प्रतिनिधि सभा विघटनविरुद्ध तीन दलको संयुक्त मोर्चा

६ पुष २०७७, सोमबार १९:५६

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले संघर्ष अघि बढाएको छ । सत्तारुढ दल नेकपाको प्रचण्ड–माधव नेपाल समूह र जनता समाजवादी पार्टी नेपाललाई सोमबार सानेपास्थित पार्टी मुख्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले चालेको कदमविरुद्ध संघर्ष गर्ने घोषणा गरेको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेस, जसपा र नेकपाको एक समूहले प्रधानमन्त्री ओलीले चालेको संसद् विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ ठहर गरेको छ । प्रधानमन्त्रीको उक्त निर्णय संविधानमाथिको आक्रमण भएको उनीहरूको ठहर छ । ‘संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर संसद विघटन गरिएको’ सर्वदलीय बैठकको ठहर छ ।

बैठकले यसका लागि आगामी दिनमा संघर्षका कार्यक्रम लिएर जनताबीच जाने सहमति गरेको छ । नेकपाको उक्त समूह र कांग्रेसको मंगलबार तथा जसपाको बुधबार बस्ने भनिएको केन्द्रीय समितिको बैठकले सरकारको निर्णयविरुद्ध प्रतिवादमा जानका लागि संयुक्त संघर्षका कार्यक्रम तय गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।
सोमबारको सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ट नेता माधव नेपाल, नेकपा प्रवक्ता श्रेष्ठ र जसपाबाट अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरू सहभागी थिए ।