पोखरामा ८ गतेबाट राष्ट्रिय नाटक महोत्सव हुँदै, उद्घाटन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने

६ चैत्र २०७४, मंगलवार १२:०५

चैत ६, काठमाडौं ।

पोखरामा चैत ८ गतेबाट राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा चैत १४ गतेसम्म हुने महोत्सव पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटक घरमा सञ्चालन हुने छ ।
महोत्सवको उद्घाटन चैत ८ गते पूर्वाहृन ११ बजे प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

महोत्सवमा विभिन्न १० नाटक मञ्चन गरिने आयोजकले बताएको छ । आयोजक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशनन्दन झाका अनुसार महोत्सवमा चैत ८ गते र ९ गते थाङ्ला, १० र ११ गते एन्टिगोनी नाटक मञ्चन हुनेछ ।

यसैगरी पोखरेली युथ क्रियसनको ‘भर्जिन कथा’, पोखराकै नेसनल आर्ट स्कुलको ‘सान्नानीको सन्ते राजा’, पोखराकै हिमाली सांस्कृतिक परिवारको ‘नारी शिक्षा’, पोखराकै ओथेलो थियटरको ‘जय गान’, लमजुङको ‘पानिघट्ट’ एक चिहान, चाँदीको घेरा, सखी लगायतका नाटक महोत्सवमा मञ्चन हुनेछन् । फेस्टिवल अवधिभर हरेक दिन दिउँसो १ बजे र साँझ ५ बजे नाटक मञ्चन हुने जनाइएको छ ।

नाटकको विकास र बिस्तारको लागि महोत्सव गरिदै आएको प्रमुख झाले बताए । उनले काठमाडौं नाटक उत्पादन, मञ्चन र यसका लागि चाहिने दर्शक सबैमा सामथ्र्यवान भएकाले नयाँ गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यले पोखरामा महोत्सव गर्न लागिएको बताए ।

कार्यक्रम संयोजक पुष्कर गुरुङले देशभरका रंगकर्मीलाई भेटघाट गर्ने तथा अनुभव साटासाटका साथै नाट्य क्षेत्रमा भएका गतिविधिको बारेमा जान्ने अवसरका रुपमा महोत्सव हुने बताए ।

यसैबीच, विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमासमेत छलफल हुने स्थानिय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए ।

महोत्सवमा मञ्चन गरिने नाटक हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधारणका लागि तीन सय र पाँच सयको टिकट दर तोकिएको पोखरा थियटरले जनाएको छ ।

महोत्सवको समापन भएपश्चात महोत्सवको बारेमा समीक्षा समेत गर्दै दर्शकको फिडब्याक लिने आयोजकले तयारी गरेको छ ।