पार्टीभित्रको असन्तुष्टिलाई भित्रै छलफल गरौंः नेता महत

३१ जेष्ठ २०७६, शुक्रबार १५:३६

हेटौंडा , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेताहरुलाई पार्टीभित्रको असन्तुष्टिलाई सार्वजनिक रुपमा छताछुल्ल नगर्न आग्रह गर्नु भएको छ ।

मकवानपुरको हेटौंडामा शुक्रबारबाट सुरू भएको नेपाल सांस्कृतिक संघको प्रशिक्षण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले पार्टीभित्रको असन्तुष्टिलाई आन्तरिक रुपमा छलफल गरेर समाधान गरिनुपर्ने बताउनु भएको हो ।

उहाँले आगामी महाधिवेशनको तयारीलाई विषयान्तर गर्न राष्ट्रिय जागरण अभियान ल्याइएको भन्ने संस्थापन इतर समूहको आरोपको खण्डन गर्नु भयो ।
उहाँले पहिलो चरणको अभियानमा देखिएका कमी कमजोरीलाई सुधारेर दोस्रो चरणको अभियान सञ्चालन गरिने जानकारी दिनु भयो । महतले दोस्रो चरणको अभियान सुरू हुन अगाडि नै पार्टीको संगठनिक संरचनालाई संघीय संचरना अनुसार विस्तार गरिने, गठन हुन बाँकी रहेका विभाग र समिति गठन गरिने र भ्रातृ संस्थाहरुलाई पूर्णता दिइने बताउनु भयो ।

पार्टीमा सक्रियता, क्रियाशिलता र एकता कायम गर्न पहिलो चरणको एक महिने जागरण अभियान केही हदसम्म सफल भएको सहमहामन्त्री महतको भनाइ थियो ।