न्यायाधीश र महिलाहरुवीच अन्तरक्रिया, ‘श्रीमती विदेश गएको बेला श्रीमानले मात्रै चाहँदैमा सम्बन्ध विच्छेद हुन्छ कि हुँदैन ?

२० चैत्र २०७४, मंगलवार ०९:५४

चैत २०, काठमाडौं ।

पहिलो पटक अदालतको दैलोमा टेकेकी नवलपुरकी रीता श्रेष्ठले जिल्ला न्यायाधीशलाई सोधिन्, ‘श्रीमती विदेश गएको बेला श्रीमानले मात्रै चाहँदैमा सम्बन्ध विच्छेद हुन्छ कि हुँदैन ?

सानो सिरुवारीकी जानुका धितालले प्रश्न गरिन्, श्रीमान मरेपछि श्रीमतीले अंश पाएनन् भने के गर्नुपर्छ ? रीता र जानुकाले मात्रै होइन चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुलीले पनि न्यायाधीशसँग सोधिन, ‘कुनै घटना भएपछि कति दिनभित्र मुद्दा दर्ता गर्नुपर्छ, तारिख कति दिनको हुन्छ ?

मुद्दामामिला परेपछि मात्रै अदालत जाने महिलाहरुको एउटा समूह अदालतमा पुगेर न्यायाधीश र अदालतका कर्मचारीहरुसँग यस्तै प्रश्नहरु गरिरहेका थिए । उनीहरुले न्यायाधीश र अदालतका कर्मचारीसँग जिज्ञाशा मात्र राखेनन्, अदालतका विभिन्न फाँटहरुमा पुगेर कुन फाँटबाट के सेवा पाइन्छ त्यो पनि बुझेका थिए ।

जिल्ला अदालत सिन्धुपाल्चोकले आयोजना गरेको महिलाहरुका लागि न्यायिक संवाद कार्यक्रममा सहभागी हुन आएका महिलाहरुले अदालतमा हुने मुद्दाको प्रक्रिया र न्याय प्राप्तिका बारेमा खुलेर सवाल जवाफ गरेका थिए ।

विभिन्न घटनाहरुमा प्राय महिलाहरु पीडित हुने र अदालती प्रक्रियाबारे अनविज्ञ हुने भएको भन्दै न्यायप्राप्तीको विषयमा महिलाहरुलाई अधिक जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

सहभागी महिलाहरुलाई सूचना कक्ष, मुद्दा फाँट, कानून व्यवसायीको कोठा, मेलमिलाप कक्ष, इजलास कक्ष लगायतका फाँटहरुको अवलोकन गराइएको थियो ।

कार्यक्रममा सहभागी महिलाहरुले अदालतमा किन ढिला मुद्दाको फैसला हुन्छ भनेर पनि प्रश्न राखेका थिए ।

महिलाहरुले राखेको विभिन्न जिज्ञासाको जिल्ला न्यायधिश दिपक खनाल र श्रेष्तेदार लेखनाथ पौडेलले जवाफ दिएका थिए ।

छलफलमा न्यायाधीश खनालले अबका दिनमा कुनै पनि प्रकृतिका मुद्दाहरु ढिलामा एक वर्षभित्र टुगोमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

चुनावी वर्ष भएकाले पनि यो वर्ष मुद्दा हेर्न केही समस्या भएको न्यायधिश खनालले बताए ।