(ने.क.पा)का अध्यक्ष ‘प्रचण्ड’ ले गरे उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित, किन ?

३० श्रावण २०७५, बुधबार १२:५२

साउन ३०, काठमाडौं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेका छन् । उत्तर कोरिया जाने कार्यक्रम स्थगित गरे र उनी भारत भ्रमणमा जाँदै छन् ।

आगामी सेप्टेम्बर ९ तारिखमा आयोजना हुने उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन प्रचण्डलाई निम्तो आएको थियो । तर, सोही समयमा भारत भ्रमणको मिति निश्चित गरिएकाले उनले यसपटक आउन नसक्ने जवाफ नेपालस्थित कोरियाली राजदूतावासमा दिएको स्रोतले बतायो ।

नेकपाका एक नेताले भने, ‘उत्तर कोरियाबाट अध्यक्ष प्रचण्डकै नेतृत्वको टोलीलाई भ्रमणको निम्तो आएको थियो । जाने भनेर तयारी पनि गरिएको थियो । तर अहिले सकिएन, अर्को कुनै अवसरमा आउँला भनेर भनिएको छ ।’

प्रचण्डको सट्टामा अरु कसैलाई पठाउने कि नपठाउने भन्ने विषयमा पार्टीले निर्णय गर्ने ती नेताले बताए ।

उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीले प्रचण्डलाई भ्रमणको निम्तो दिएको थियो । उक्त निम्तो पत्र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ्ग हकले प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

प्रचण्डनिकट स्रोतले भने अन्य केही कारणले नभई समय अभावमात्रै भ्रमण स्थगनको कारकतत्व रहेको बताएको छ ।