नेपाल रेडक्रस सोसाइटी बिवादमा

२७ श्रावण २०७६, सोमबार १३:२८

काठमाडौं , पछिल्लो समय भ्रष्टाचार र अनियमितताको आरोप लागेर चरम विवादमा फसेको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनलाई अटेरी गरेको छ। अटेरीविरुद्ध प्रशासनले रेडक्रस सोसाइटीको नेतृत्वलाई पत्र काट्दै २४ घण्टे स्पष्टिकरण सोधेको छ।

संस्था दर्ता ऐन २०३४ को दफा १२ को उपदफा ४ बमोजिम कारबाही किन नगर्ने भन्दै जिल्ला प्रशासनले २४ घण्टे स्पष्टीकरण मागेको हो । वर्तमान कार्य समितिको वैधानिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै साधारण सभा नगर्न दिएको निर्देशन रेडक्रस सोसाइटीले अटेरी गरेको हो।

सोसाइटीका पदाधिकारी तथा कर्मचारीसमेतले विभिन्न विषयमा भ्रष्टाचार तथा अनियमितता गरेको सन्दर्भमा छानबिन भइरहेका बेला मंगलवार साधारणसभा राखिएको सूचना प्रशासनलाई प्राप्त भएपछि संस्थामाथि कारवाही चेतावनी दिएको छ । साधारणसभा स्थगित गर्न प्रशासनले दिएको निर्देशनलाई बेवास्ता गर्दै रेडक्रसले पुनः बनेपामा साधारणसभा बोलाएपछि कानूनअनुसार संस्थामाथि कारवाही चेतावनी दिएको हो ।