नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सहकार्य गरेर सरकार अगाडि बढ्छः मन्त्री महासेठ

३ फाल्गुन २०७५, शुक्रबार १०:०८

काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले यातायात क्षेत्रलाई निषेध गरेर सरकार अगाडि बढ्न नखोजेको बताउनुभएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको ‘वार्षिक साधारणसभा’को अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकार व्यवसायीलाई दुःख दिएर अगाडि बढ्न नचाएको बताउनुभएको हो । मन्त्री महासेठले यातायात महासङ्घसँग सहकार्य गरेर सरकार अगाडि बढ्न चाहेको बताउँदै यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी लाग्नुपर्ने बताउनुभयो ।उहाँले यातायात क्षेत्रका विज्ञ व्यक्तिले दिएका सुझावका आधारमा यातायात निर्देशिका संशोधन गर्दै अगाडि बढ्ने स्पष्ट पार्नुभयो । मन्त्री महासेठले बढ्दो सवारी साधनलाई ध्यानमा राखेर सरकारले छ हजारदेखि आठ हजार किलोमिटरसम्म नयाँ सडक कालोपत्र गर्न लागेको बताउनुभयो ।यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्न सरकार लागेको खुलासा समेत गर्नु भयो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले यातायात व्यवसायीसँग छलफल नगरी निर्देशिका जारी गरेको भन्दै यसलाई सच्याउन सरकारसँग आग्रह गर्नुभयो ।नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष अजयकुमार राई, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष सोम तामाङ, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारीलगायतले मुलुकको समग्र यातायात सुधारका लागि सरकारले व्यवसायी र मजदूरलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।महासङ्घका महासचिव सरोज सिटौलाले साधारणसभाले मुलुकको समग्र यातायात क्षेत्रमा देखिएको समस्या समाधान गरी यातायात क्षेत्रको विकासका लागि सरकारलाई सुझाव दिने बताउनुभयो । उहाँले यातायात क्षेत्रलाई मर्यादित र ब्यवस्थित बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।