नेकपा (माओवादी–केन्द्र) को स्थानीय तहमा अधिकांश उम्मेदवारहरुको टुङ्गो

२० भाद्र २०७४, मंगलवार १५:४७

काठमाडौ‌ं, भदौ २० गते । नेकपा (माओवादी–केन्द्र) ले आगामी असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तहमा अधिकांश उम्मेदवारहरुको टुङ्गो लगाएको छ । मनोनयको एक दिन मात्र बाँकी रहँदा माओवादीले अझै केही स्थानको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।

केही स्थानमा आकाङ्क्षीहरु धेरै भएको तथा केहीमा अन्य दलहरुसँगको तालमेल गर्ने छलफल टुङ्गो नलागेकोले सबै स्थानमा उम्मेदवारको अन्तिम सूची तयार हुन नसकेको माओवादी नेताहरुले बताएका छन् । तेस्रो चरण अन्तर्गत प्रदेश नं. २ मा आठ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । जस अन्तर्गत एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् ।
प्रदेशको एक मात्र महानगर वीरगन्जको प्रमुखमा माओवादीले रहबर अन्सारीलाई उम्मेदवार बनाउने भएको भने उपप्रमुख टुङ्गो लाग्न बाँकी छ । बाराको कलैया उपमहानगरमा मुकेश शाह र उपप्रमुखमा नजमा खातुन उम्मेदवार हुनुभएको जिल्लाका उम्मेदवारहरुको संयोजन गरि रहनुभएका गोपाल ठाकुरले बताउनु भयो ।

बाराकै जितपुर–सिमरा उपमहानगरपालिका प्रमुखमा राजन पौडेल उम्मेदवार बन्नु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिकामा भने मंगलबार राती अबेरसम्म पनि उम्मेदवार टुङ्गो लाग्न सकेको छैन । नेताहरुका अनुसार सिराहा, सप्तरी, सर्लाही र बारा जिल्लाका सबै तहको उम्मेदवारको टुङ्गो लागेको छ ।

रौतहट, धनुषा, पर्सा र महोत्तरीका केही स्थानमा उम्मेदवारी टुङ्ग्याउन बाँकी छ । ‘प्रायः सबै ठाउँको उम्मेदवार टुङ्गो लागेको छ । आज रातीसम्ममा सबै टुङ्गिन्छ,’ माओवादी प्रदेश नं. २ इन्चार्ज मातृका यादवले भन्नुभयो, ‘उम्मेदवार चयन गर्ने अधिकार पार्टीको स्थानीय कमिटीलाई दिएका कारण सबैको एकमुष्ट सूची प्राप्त भइ सकेको छैन ।’
प्राप्त सूची अनुसार सिराहा नगरपालिकाको प्रमुखमा महेश यादव, लहान नगरपालिका प्रमुखमा खड्ग नारायण चौधरी उपप्रमुखमा रिक्मा विक, धनगढी नगरपालिमा हरिनारयाण चौधरी र फुलकुमारी श्रेष्ठ, गोल बजारमा देवनाथ शाह र रेशम थापा उम्मेदवार बन्नु भएको छ । त्यस्तै, सिराहकै मिर्चैया नगरपालिका प्रमुखमा श्रवणकुमार यादव, कर्जन्हा नगरपालिकामा गंगा पासवान, कल्याणपुर नगरपालिकामा प्रकाश महासेठ उम्मेदवार बन्नु भएको छ ।

रौतहटको चन्द्रनिगाहपुर प्रमुखमा युवराज भट्टराई (समिर), सर्लाहीको हरिवन नगरपालिकामा कमल बुढाथोकी उम्मेदवार बन्नुभ एको छ । महोत्तरीको बर्दिबास नगरपालिकामा विदुर कार्की र गौशला नगरपालिकामा नरेन्द्र यादव प्रमुखको उम्मेदवार बन्नु भएको छ । गौशालामा माओवादीले रामबाबु शाहलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर शाह आफैँले पहल गरेर राजपाका नेता यादवलाई पार्टी प्रवेश गराई उम्मेदवार बनाउनु भएको प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिनु भयो ।
मिथिला, निजगढ र लालबन्दीमा कांग्रेससँग तालमेल

माओवादीले मिथिला, निजगढ र लालबन्दी नगरपालिकामा नेपाली काङ्ग्रेससँग तालमेल गरेको छ । माओवादी नेता विश्वनाथ शाहका अनुसार मिथिला नगरपालिकाको प्रमुखमा श्रवणकुमार यादव उम्मेदवार बन्नु भएको छ । यहाँ काङ्ग्रेसले उपप्रमुख लिने सहमति भएको उम्मेदवार भने टुङ्गो लाग्न बाँकी छ । लालबन्दीमा पनि माओवादीले प्रमुख र काङ्ग्रेसले उपप्रमुख लिने सहमति भएको छ ।
जस अनुसार माओवादीले प्रह्लाद बुढाथोकीलाई उम्मेदवार बनाएको छ । काङ्ग्रेसकबाट कुवेर आचार्य उम्मेदवार बन्नु भएको छ । निजगढमा काङ्ग्रेसलाई प्रमुख र माओवादीले उपप्रमुख लिने सहमति भएको छ । तर उम्मेदवारहरुको नाम टुङ्गिएको छैन ।  माओवादीले प्रदेश नं. २ मा मधेशवादी दलहरुसँगको तालमेललाई प्राथमिकता दिने निर्णय गरेको थियो । यद्यपि अहिलेसम्म कुनै पनि स्थानमा उनीहरुसँग तालमेल नभएको बताइएको छ । दुई चरणको निर्वाचनमा दोस्रो र तेस्रो भएको काङ्ग्रेस र एमालेबीच दर्जन बढी स्थानमा तालमेल हुने बताइएको छ । तालमेलको टुङ्गो लगाउने जिम्मेवारी काङ्ग्रेसबाट आनन्द ढुङ्गाना तथा माओवादीबाट मातृका र विश्वनाथले पाउनु भएको छ । साभार ः गोरखापत्र अनलाईन