नवलपरासीको कावासोतीमा लाखौँ ठगेर दम्पति फरार

२६ आश्विन २०७५, शुक्रबार ०९:५२

 

नवलपरासी– पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएका छन्। दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले १ करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ।

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पति सम्पर्कबिहीन भएका छन्। कावासोती नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताए।

‘सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई÷चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,’ पडित तिमिल्सिनाले भने। केही समयअघि घर बिक्री गरेका उनले कुनै प्रमाण नराखी रकम दिएका छन्।

सापकोटा दम्पतिले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन्।