नल्लुकी कान्छी र दलचोकीका सानुहरुलाई नछोएको निर्वाचन

१० मंसिर २०७४, आईतवार १२:०९

शशिशेखर घिमिरे,१० मंसिर ।
२०११ सालमा जन्मीएकी कान्छी सिल्वाल अहिल्य ६३ वर्षकी भईन् ।

मंसिरको चिसोले घाम प्यारो हुँदै जादाँ त्यसबाट अछुतो रहन कान्छीमात्र कहाँ सक्थिन् र ? उपत्यकाको दक्षिणी कुनो नल्लुमा रहेको आफनै घर अघिल्तीर दुई नाती संग गफिरहेकी सिल्वाललाई नजिकिदो चुनावले भने कतिको छोएको रहेछ त ,उनकै छोराबुहारीले थापेको पसल अघि बाहिर बसेर नै चियाको चुस्की संगै मैले सोधे ।

आमाको नामः कान्छी सिल्वाल
उमेरः ६३ बर्ष
माईतीः भक्तपुरको गुण्डु
तीन छोरी, एक छोरा साथमा
पतिको देहान्त


हो ,कान्छी सिल्वालको सामान्य परिचय यहि हो । उनै कान्छी नजिकिदो चुनावबारे भने बेखवर जस्तै रहेछिन् । आमा ! भोट हाल्न आँउछ ? खै, के आँउछ भन्नु कि आँउदैन् । उनल,े अकमक्दैं भनिन् । खोई कसरी हाल्ने हा,े मलाई त खासै आउँदैन् बाबु । उनि फिसीक्क हाँसिन् ।
तपाईको गाउँ त रमाईलो रहेछ नि ? मैले फेरि सोधे । उनले अँह् भनिन् र यी हेर्नुन् बाटो पनि भर्खर ठुलो बन्दैछ, भन्नि ।


पहिल्य पारी घर थियो, घाम ताप्नकै लोभले वारि आयौं । चुपचाप बगिरहेको नल्लु खोला पारिको कमेरोले पोतेको दुईतले घर तर्फ देखाउँदै उनले भनिन् ।  त्यहाँ त घाम नै लाग्दैनथ्यो । यहाँ बिहान देखि बेलुकासम्म नै लाग्छ । त्यहाँ त विहान ११ बज्दा–नबज्दै घाम छेकिन्छ । कान्छीले सुनाईन् ।

कान्छी जस्ता वृद्ध आमाहरुलाई घाम ताप्नकै लालचाले पारिबाट वारि ल्यायो । यी बाहेक अन्य सुख सुविधा पनि कान्छीहरुलाई आवश्यक छ, यतिखेर । ललितपुरको कञ्जोसोयम गाउँपालीका अन्र्तगत वडा नंम्वर ४ मा स्थायी बसोवास रहेको कान्छी सिल्वालहरुको आँगन अघि बाट मोटरगाडी चढ्ने सपना पनि रहेछ । बिरामी भए घर नजिकै ओषधोमूलो होस् भन्ने चाहान पनि रहेछ । अनि यो उमेरमा घर भन्दा केहि माथि डाँडामा बनेको पाथीभर मन्दिरसम्म जाने बाटो पीच भईदिए सजिलै देविको दर्शन गर्न जान पाईने अभिलाषा पनि साँचेकी रहिछीन् ।

बुढ्उली उमेरमा सुख र शान्तिको दिन बिताउने रहर कान्छी जस्ता थुप्रै वृद्धहरुको हुनसक्छ । जो यो उमेरमा पनि सन्तान सुख र नातिनातिनाको उज्जवल भविष्यको कामनामा नजिकिदों निर्वाचनमा भोट हाल्न जाने र सहि प्रतिनीधिलाई रोज्ने ईच्छामा छन् । तर बिड्म्वना बिदेशी दातृनियोगबाट भित्रीएको रकमले राजधानी नजिकै बसोवास गर्ने कान्छीहरुलाई भने मतदान गर्ने तरिका सम्म सिकाउँन सकेको रहेनछ् । अन्य स्थानको अवस्था के होला ?

के तारेहोटलमा भएको गोष्ठि र सेमिनारले ति दूरदराजमा रहेका बाबुआमाहरुलाई सहि तरिकाले मतदान गर्न सिकाँउला ?

ललितपुर  दलचोकीकै सानु तामाङ जो उमेरले चौविस भए । नजिकिदो निर्वाचनले उनलाई पनि छुन सकेको देखिएन । उमेरले चौविस बर्षिय तामाङलाई नजिकिदो निर्वाचनको कुनै उत्साह नै रहेनछ् । चुनाव र नेताहरुको उनि कुरै गर्न चाहँदा रहेनछ्न । जो दैनिक जस्तो गोदावरी नगरपालीका १३ मा रहेको ईट्टाभट्टामा रातदिन पसिना बगाईरहेका छन् ।

त्यसो त उनलाई आफनी १९ दिने छोरीको लालनपालन मात्र गर्नु छैन , आफू भन्दा झण्डै उमेरले ६ वर्ष कमकी सुत्केरी श्रीमतिलाई तातोमिठो खुवाउनु पर्ने बाध्यता सानुलाई दैनिक हजारवटा ईट्टा पारेर हजारनै कमाउनु पर्ने अवस्था छ । ईट्टाको कुरा गर्दा भने उनि केहि हौसिए । पहिल्य जस्तो अहिल्य त्यति काम गाह्रो छैन । डोजरले माटो मुछिदिन्छ । हामीले ईट्टा पार्ने मात्र हो । सानुले सुनाए । यहि सेरोफेरोमा चुनाव आउँदैछ नी भोट हाल्न जानु हुन्न ? भन्ने प्रश्न फेरि गर्दा,उनले एक त बोल्नै चाहेनन् ,तेह्राएर फेरि सोध्दा, खै “के–को लागी भोट हाल्नु ” ?

एकतमासले बनाउँदै गरेको ईट्टा पार्ने ठाँउबाट नहेरी नै जवाफ फर्काए । सानुकी सुत्केरी श्रीमती जो श्रीमानसंगै छेउमा आएर बच्चा बोकेर बसेकी थिइन्, उनलाई त अझ चुनावको कुनै वास्तै थिएन् । चिन्ता थियो त यो चिसोमा आफनी १९ दिने सानी बच्चालाई जञ्डिस भएको पीडा ।

हो, सानु जस्ता थुप्रै युवाहरुलाई न निर्वाचन प्रति उत्साह देखिन्छ न भोट नै हाल्न पर्छ भन्ने सोच । मात्र उनिहरुलाई दुई छाँक खानकै बाध्यताले कसैलाई ईट्टाभट्टामा पुराएको छ त कसैलाई सडकपेटीमा । अनि कतिलाई डान्सबारमा लगेर नँग्याएको छ ।

अनि परिवारको सुन्दर भविष्यको कामना गर्दै हरदिन विदेशी माटामो पसिना बगाउन जान पर्ने अवस्था बनाएको छ । हो, यी र यस्तै रुझानका कारण निर्वाचनप्रति आमसर्वसाधारणको चासो र चिन्ता जति हुनुपर्ने हो, त्यति हुननसकेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसिको ठम्याई छ । जस्ले निर्वाचनले सुन्दर भोलीको कामना गर्न नसक्दा विकास र परिवर्तनमा ठोस उपलव्धी दिन नसक्दा युवाहरु प्रति देखिएको नैराश्यताले भोलीको अवस्था सुखद हुन नसक्ने आँकलन पनि गरेका छन् । उनले वर्षौदेखि उहि अनुहार र बिकाउ मुद्धा लिएर गाउँठाउँमा भोट माग्न जाने नेताहरुप्रतिआमसर्वसाधारणको रुचि घटाउदै लगेकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।