नयाँ ऐन कार्यान्वयनका लागि तयारी हुँदै

१८ श्रावण २०७५, शुक्रबार १२:११

साउन १८, काठमाडौं ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अनुसन्धानलाई प्रभावकारी र बलियो बनाउन सरकारी वकिलहरुलाई निर्देशन दिएका छन् ।

राजधानीमा शुक्रबार आयोजित सरकारी वकिलहरुको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै महान्यायाधिवक्ता खरेलले त्यसका लागि अनुसन्धान अधिकृतसंग मजबुत सम्बन्ध बनाउन अाग्रह गरे ।

अनुसन्धान कमजोर हुँदा अभियोजन पनि कमजोर हुने भएकाले यसलाई प्रभावकारी बनाउनु पर्ने खरेलकाे भनाइ छ ।

नयाँ ऐन कार्यान्वयनका लागि न्यायालय, प्रहरीलगायत सरकारी निकायले तयारी गरिरहेको उल्लेख गर्दै उनले समन्वयकारी भूमिका निर्वाहमा उचित ध्यान दिन सरकारी वकिलहरुलाई निर्देशन दिए ।

नयाँ ऐनबारे सरकारी वकिलहरुको एउटै अवधारणा तयार पार्नुपर्ने आवश्यकता समेत उनले औंल्याए । विगतका कतिपय अभ्यासले नयाँ ऐन कार्यान्वयनमा साथ नदिने भएकाले आउन सक्ने समस्या समाधानका लागि महान्यायाधिवक्ताको कार्यालयमा सम्पर्क व्यक्ति सहितको भिन्न डेक्स स्थापना गरिएको जानकारी उनले दिए । त्यसले समस्याबारे छलफल गरी निक्र्योलमा पुग्न सहयोग पुग्ने उनको विश्वास छ ।

महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार सरकारी वकिलहरुका लागि मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्यन) ऐन २०७४ बारे जानकारी दिन कार्यशाला आयोजना गरेको हो ।

उक्त ऐन भदौ एक गतेबाट लागु हुनेछ ।