धनगढी प्रदेश राजधानी, दीपायलमा उग्र आन्दोलनकासाथै प्रधानमन्त्री देउवाको ‘शवयात्रा’

४ माघ २०७४, बिहीबार १०:२५

माघ ४, काठमाडौं ।

प्रदेश नं ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकिएको विरोधमा डोटीको दीपायलमा जारी आन्दोलन उग्र बन्दै गएको छ ।

सरकारले बुधवार प्रदेशको अस्थायी मुकाम तोकेसँगै आन्दोलनको विभिन्न कार्यक्रम गरेका आन्दोलनकारीहरुले आज विहिवार आन्दोलनलाई थप उग्र बनाएका छन् ।

उनीहरुले प्रदेश नम्बर ७ को राजधानी डोटी माग गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, देउवा पत्नी डा. आरजु देउवा लगायत अन्य नेताहरुको पुत्ला दहन समेत गरेका छन् ।

बिहानैदेखि दीपायल र सिलगढी ठप्प पारेका आन्दोलनकारीले यातायातका कुनै पनि साधन चल्न दिएका छैनन् । सरकारी कार्यालय, उद्योगधन्दा, कलकारखाना बन्द छन् । आक्रोशित आन्दोलनकारीले दीपायलमा रहेको ट्राफिक प्रहरी चेकपोष्टमा आगो लगाएका छन् ।

आन्दोलन संयोजक समितिका संयोजक नरेन्द्र खड्काले प्रदेश राजधानी तोक्ने सरकारी निर्णय नसच्याइएसम्म आन्दोलन नरोकिने बताएका छन् । आन्दोलनमा स्थानीय राजनीतिक दलका नेताहरुको समेत ऐक्यवद्धता रहेको छ ।


  • यसैबीच, नेपाली कांग्रेस डोटीका ३५ जना नेता कार्यकर्ताहरुले पार्टी छाडे

 

यसैबीच राजधानी धनगढीमा तोकिएपछि नेपाली कांग्रेस डोटीका ३५ जना नेता कार्यकर्ताहरुले पार्टी छाडेको घोषणा गरेका छन् । यसरी घोषणा गर्नेमा नेपाली कांग्रेसको जिल्बला कार्यसमिति र क्षेत्रीय समितिका पदाअधिकारीहरु रहेका छन् ।

  • नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले प्रदेश नं ७ को राजधानी धनगढी तोकेर डोटीको इतिहास मेटाउने काम भएको बताएका छन् । उनले बिज्ञप्ती मार्फत निणर्य सच्याउन सरकारसँग माग गरेका छन् ।
  • नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले बैठक स्थलमात्रै तोकिएकाले आन्दोलन नगर्न आन्दोलनकारीहरुसँग आग्रह गरेका छन् । उनले राजधानी तोक्ने काम प्रदेशसभाले गर्ने भएकाले धैर्य गर्न पत्रकार सम्मेलनमार्पmत आग्रह गरेका छन् ।

दीपायलमा यातायात अबरुद्ध भएपछि कैलालीबाट अछाम र बाजुराका लागि चल्ने सवारीसाधनहरु सुर्खेतको बाटो भएर अछाम जान थालेका छन् ।