देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रो काँधमाः अध्यक्ष दाहाल

८ मंसिर २०७४, शुक्रबार १४:३९

मंसिर ८, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थिर सरकारका लागि कम्युनिष्ट केन्द्र निर्माण गर्न लागिएको बताएका छन् ।

योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं ३ को संयुक्त भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले स्थिर सरकारले मात्रै युवालाई रोजगारीको अवसर सिर्जना गर्नसक्ने बताए ।  अध्यक्ष दाहालले भने, “नेपाल जहिले पनि राजनीतिक स्थिरताको भूमरिमा प¥यो, धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन् तर, पूर्व प्रधानमन्त्री मनमोहन, केपी ओली र मैले सरकारको नेतृत्व गर्दा केही नयाँ रेकर्ड बनाएका छौंँ, हाम्रो नेतृत्वका सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरेर रेकर्ड बनाएको छ ।”

 

सत्तरी वर्षदेखि अस्थिरताको भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको भन्दै उनले भने, “हामीले नै देशको जिम्मा लिनुपर्छ, कम्युनिष्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिनसक्छ, राजनीतिक स्थिरता दिनसक्छ ।” स्थिर सरकार बने मात्रै देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने अध्यक्ष दाहालले बताए । उनले स्वदेशमा रोजगारी दिन नसक्दा लाखौं युवा विदेशिएको बताउँदै केही आम्दानी भए पनि विदेशमा स्वाभिमानी भएर बाँच्न नसकेको धारणा व्यक्त गरे । अध्यक्ष दाहालले भने, “खाडीमा नेपाली मजदुर पीडा र आतंकका बीचमा बाँचिरहेका छन् ।”

 

युवालाई उच्च मनोबलका साथ एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गर्दै उनले युवालाई योजनावद्ध रूपमा आक्रमक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “युवालाई रक्सी र मासुको भूलभूलैयामा राखेर युवाको अपमान गर्नेहरूका विरूद्ध सचेत ढंगले मुकाबिला गर्नुहोस् । साम्राज्यवादीले युवालाई क्षणिक स्वार्थका लागि उपयोग गर्ने गरेको बताउँदै अध्यक्ष दाहालले भविष्यका लागि सोच्नुपर्ने बताए । उनले भने, “प्रतिक्रियावादी दक्षिणपन्थीले मात्रै होइन, अन्तर्राष्ट्रिय बुर्जुुवाहरुले पनि युवालाई उपयोग मात्रै गर्दछन् ।”