देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैनः दाहाल

४ माघ २०७७, आईतवार २१:५२

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू आन्दोलनमा लाठी खान तयार रहेको बताएका छन् ।

अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने र उक्त आन्दोलनमा लाठी खान तयार रहेको बताएका हुन ।

उनले भने, ‘९ गतेको आन्दोलनमा म अगाडि हुन्छु, तपाइँहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ।’

‘प्रतिगमन’लाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ ।

 

उनले प्रतिनिधिसभा विघटन सामान्य परिस्थिति नभएको बताउँदै अब गर्जिनुपर्ने अवस्था आइसकेको समेत बताए ।

‘तपाइँहरु जुझारु र आक्रमक ढंगले जाने कार्यक्रमहरु बनाउनुस्, हामी अन्तिम अवस्थासम्म पनि नेतृत्व गर्न तयार छौँ, देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैन’, उनले भने ‘हिजो पनि मर्न हिँडेको हो जरुरी पर्छ भने मर्न तयार तर झुक्न चाहि तयार छैनौँ ।’