दुई महिनामै उप्कियो पिच

१९ माघ २०७६, आईतवार १०:५२

काठमाडौं, स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुुन नगरपालिकाले दुुई महिनाअगाडि कालोपत्रे गर्‍यो। अहिले सडकमा कालोपत्रे उप्किएर खाडल बनेका छन् ।

मापदण्ड पूरा नगरी बनाएका कारण कालोपत्रेले दुुई महिना पनि नथामेको नागार्जुुन नगरपालिका–४ का स्थानीयले बताए । ‘नगरपालिकाले मापदण्ड पूरा नगरी पिच गरेको देखिन्छ,’ एक स्थानीयले भने, ‘कालोपत्रे देखाउन मात्र गरिएको रहेछ।’

उक्त सडक बनाउन नगरपालिकाले ०७५ चैतमा कालिञ्चोक कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। तर, वर्षात्को मौसम भएकाले त्यस बेला काम सुुरु नभएको नगरपालिकाका इन्जिनियर कञ्चन खनालले बताए। त्यसपछि कात्तिक मसान्तपछि कालोपत्रे गरियो।

२० एमएको मोटाइको पिच गर्न ५४ लाख ९१ हजार रुपैयाँमा कालिञ्चोक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको जानकारी दिए। ‘कालोपत्रे दुुई महिना नबित्दै उप्किएको हो,’ उनले भने, ‘ढललगायतका कारण पनि कालोपत्रे उप्किएको हुुन सक्छ।’

लामो समयसम्म ढलको समस्याले गर्दा पिच गर्न सम्भव थिएन । तर, सबैले काम छिटो गरौं भन्न थालेपछि चिसो अवस्थामै सडक कालोपत्रे गरिएकाले उप्किएको इन्जिनियर खनालको भनाइ छ। ‘हामीले ढलको समस्या भएकाले तत्काल काम नगर्ने भनेका थियौं,’ उनले भने, ‘सबैको दबाबका कारण चिसोमै काम गर्‍यौं। त्यो पनि एउटा कारण बन्यो।’

तर, यति छिट्टै कालोपत्रे उप्किएकाले ठेकेदारले मापदण्डविपरीत बनाएर अनियमितता गरेको स्थानीयको आशंका छ। नगरपालिकाले ठेकेदारको काम सन्तोषजनक नभएको भनेर पत्र काटिसकेको इन्जिनियर खनालले बताए । ‘हामीले कालिञ्चोक कन्स्ट्रक्सनका नाममा पत्र काटिसकेका छौं,’ उनले भने, ‘ठेकेदारलाई पुुनः काम गर्न लगाउँछौं।’(आजको अन्नपूर्ण पोष्टबाट)