दीपकराज जोशी बने नेपालको प्रधानन्यायाधीश

१ चैत्र २०७४, बिहीबार ०७:२१

चैत १, काठमाडौं ।

गोपाल पराजुली पदमुक्त भएपछि आजैदेखि दीपकराज जोशी नेपालको कायममुकायम प्रधानन्यायाधीश बनेका छन् ।

अब संवैधानिक परिषदले बरिष्ठताका आधारमा उनैलाई प्रधानन्यायाधीश बनायो भने जोशीले आगामी १९ महिना २४ दिनसम्म सर्वोच्च अदालतको नेतृत्व गर्न पाउने छन् ।

वि.सं. २०११ साल असोज २४ गते जन्मेका जोशीको ६५ वर्षे उमेर हद ०७६ साल असोज २४ गते सकिनेछ ।

संविधानअनुसार संवैधानिक परिषदले ज्येष्ठ न्यायाधीशलाई नै प्रधान न्यायाधीश बनाउनुपर्छ भन्ने बाध्यता छैन । तर, अहिलेसम्मको परम्परा ज्येष्ठ न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने रहेको छ ।

बरिष्ठतालाई मिचिएन भने दीपकराज जोशीको अवकाशपछि चोलेन्द्र समेशर राणा नेपालको प्रधानन्यायाधीश बन्नेछन् ।

चोलेन्द्रले सन् २०२२ डिसेम्बर १३ सम्म प्रधानन्यायाधीश बन्न पाउनेछन् ।

बरियताका आधारमा चोलेन्द्रभन्दा अगाडि रहेका बरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले भने प्रधानन्यायाधीश नहुँदै उमेर हदका कारण अवकाश पाउने छन् । किनभने ओमप्रकाश दीपकराज भन्दा १० महिना जेठा हुन् ।

चोलेन्द्र प्रधानन्यायाधीश रहेकैबेला न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र मीरा खड्का उमेर हदका कारण रिङ आउट हुनेछन् ।

र, २०२० डिसेम्बर १३ मा राणापछि एकैचोटि हरिकृष्ण कार्कीको प्रधानन्यायाधीश बन्ने पालो आउने छन् ।