दाङमा रातिको समयमा निषेधाज्ञा

९ भाद्र २०७७, मंगलवार १५:४४

दाङ , कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातिमा जारी निषेधाज्ञा कायमै हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान ५ बजे सम्मका लागि निशेधाज्ञालाई कायमै राख्‍ने निर्णय गरेको हो ।

बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालनगर्न दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विषयगत कार्यालयलगायतको उपस्थितिमा बसेको बैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागु हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागु गर्ने, बजारलगायतका स्थानमा स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई जरीवाना तथा अन्य कारबाही गर्ने निर्णय भएको छ ।

बैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकले सबै गाउँपालिकामा क्वारेन्टिनन, आइसोलेसनको व्यवस्थागर्ने, कन्ट्याक्ट ट्रेसिङ, परीक्षण बढाउने निर्णय गरेको छ ।

बैठकले बढी भिडभाड हुने बैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयमा हुने कामकारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य मास्क प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोभिड १९ बाट मुक्त राख्‍न राति पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजी गरिएको जानकारी दिनु भयो ।