माघ १५ , काठमाडौं ।
उद्योगीले सिमेन्टको मूल्य घटाएका छन् । अस्वभाविक मूल्यवृद्धिप्रति सरकारले अनुगमनमा कडाई गरेपछि र चौतर्फी दबाब आएपछि उद्योगीले सिमेन्टको मूल्य घटाएका हुन् ।
पुनर्निर्माणको मूख्य सिजनमै उद्योगीले घर निर्माणका लागि अत्यावश्यक सिमेन्टको भाउ अस्वभाविक रुपमा बढाएका थिए । उद्योगीले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरेका थिए ।
-
सय रुपैयाँ बढाए, २० रुपैयाँ घटाए
विभागका अनुसार शिवम् सिमेन्टले प्रतिबोरा २३ रुपैयाँ मूल्य घटाएको छ । अब उक्त सिमेन्टको प्रतिबोरा मूल्य आठ सय ८७ मा झरेको छ । उक्त सिमेन्टले १५ प्रतिशतसम्म मूल्य बढाएको थियो ।
त्यस्तै, अम्बे सिमेन्ट उद्योगले प्रतिबोरा २० रुपैयाँ मूल्य घटाएको छ । उक्त सिमेन्टले प्रतिबोरा एक सय १० रुपैयाँ मूल्य बढाएको थियो । अब यो सिमेन्टको प्रतिबोरा मूल्य सात सय ४० रुपैयाँमा झरेको छ ।
यसैगरी,
सर्वोत्तम र नारायणी सिमेन्टको मूल्य प्रतिबोरा १०/१० रुपैयाँले घटेको छ । अब नारायणी सिमेन्टको मूल्य आठ सय ८० र सर्वोत्तमको आठ सय ३५ रुपैयाँ पर्नेछ ।
हेटौंडा सिमेन्टलाई पनि मूल्य घटाउन पत्राचार गरिएको विभागले जनाएको छ ।
जगदम्बा छडले पनि मूल्य घटाउने प्रतिवद्धता जनाएको विभागको भनाइ छ ।
यसअघि शालिमारले १६ प्रतिशत, हेटौंडाले १३ प्रतिशत, निर्माणले साढे १२ प्रतिशत, अग्निले साढे १० र मारुती सिमेन्टले ६ प्रतिशत मूल्य बढाएका थिए ।
त्यस्तै, हामा छडले आठ दशमलव सात प्रतिशत, जगदम्बा छडले सात प्रतिशत र शाखः छडले चार दशमलव सात प्रतिशत मूल्य बढाएका थिए ।
अस्वभाविक मूल्यवृद्धि गरेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गरेर मूल्य घटाउन उद्योगीलाई दवाव दिएको थियो । विभागले गरेको अध्ययन प्रतिवेदनले उद्योगीले १७ प्रतिशतसम्म भाउ बढाएका देखाएको थियो ।
भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै करिब डेढ महिनाअघिदेखि निर्माण व्यवसायीहरूले सिमेन्ट र छडको मूल्यवृद्धि गरेका थिए । उद्योगीले बढाएको मूल्य अस्वभाविक भएको दावी गर्दै विभागले साविककै मूल्य कायम गर्न सुझाव दिएको थियो ।
मूल्य घटाउन सरकारले दबाब दिएपछि सिमेन्ट उत्पादक संघले मूल्य घटाउन सबै उद्योगीलाई पत्राचार गरेको थियो ।
विभागका महानिर्देशक कुमार दाहालले मूल्य बढाएका सबै सिमेन्ट र छड उद्योगले मूल्यमा केही समायोजन गर्ने प्रतिवद्धता जनाएका बताए । यो मूल्य पनि थप घट्ने विभागको दावी छ ।