तमोरको ३४ किलोमिटर लामो र्‍याफ्टिङ रुट ओझेलमा, र्‍याफ्टिङ शुल्क कति ?

२६ चैत्र २०७४, सोमबार ०९:२०

चैत २६, काठमाडौं ।

र्‍याफ्टिङका लागि विश्वकै उत्कृष्टमध्ये एक मानिने तमोर नदीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नसकिएको गुनासो सरोकारवालाहरुले गरेका छन् । उनीहरुले यसको प्रबर्द्धन गरेर फाइदा लिन ढिलाइ गर्न नहुने बताए ।

इटहरीका पर्यटन व्यवसायी सुनिल भुसालले तमोर जस्तो विश्व प्रसिद्ध र्‍याफ्टिङ नदी प्रदेश १ मै रहेको तर त्यसको उचित ब्राण्डिङ गर्न नसकिएको गुनासो गरे । ‘काठमाडौं नजिकै पर्ने सामान्य त्रिशूलीको र्‍याफ्टिङमा राजधानीको ठूलो जमात मात्र होइन, विदेशीहरू पनि आनन्द लिन आँउछन्, भुसालले भने, ‘तर, हामीले तमोरको त्यही स्केलमा प्रचार गर्न सकेनौं ।’

उनले विहार, पश्चिम बंगालजस्ता धेरै जनसंख्या भएका सिमावर्ती भारतीय राज्यबाट र्‍याफ्टिङ पारखीहरु ल्याउँदा ठूलो फाइदा पुग्ने भन्दै यसतर्फ सोच्न आग्रह गरे ।

भुसालको जस्तै तर्क छ इटहरी नजिकैको गोकुलम रिसोर्टका सञ्चालक सतिश पोखरेलको । पोखरेल विहारको कराडौं जनसंख्याको एउटा सानो अंशको युवा जमातलाई मात्रै र्‍याफ्टिङ गर्न तमोरमा ल्याउन सकेको अवस्थामा पूर्वको पर्यटनमा व्यापक सुधार हुने बताँउछन् ।

‘हाल तमोरमा मंसिरदेखि वैशाखसम्म २५ समूहमा बढीमा १०० जनाले मात्रै र्‍याफ्टिङ गर्दा रहेछन’, शुक्रबार आफंै दुई दिने र्‍याफ्टिङ गर्न तमोर पुगेका पोखरेलले भने, ‘विहारका ५० हजार युवाहरू मात्रै हामीले पीक सिजनका पाँच-छ महिनामा तान्न सके धेरै राम्रो हुन्छ ।’

पोखरेलको समूहमै तमोर र्‍याफ्टिङ गर्न यही शनिबार निस्किएका संघीय इकाई प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी हरिबहादुर पालले तमोर र्‍याफ्टिङका लागि उपयुक्त भए पनि प्रचार नपुगेको बताए । ‘तमोरमा र्‍याफ्टिङ गर्न आवश्यक छाल र बहाबहरु छन्, र्‍याफ्टिङ गराउने व्यावसायिक कम्पनीहरू पनि छन् र जोखिम पनि कम छन’, एसएसपी पालले भने, ‘तर हामीले छिमेकी भारतीय राज्यहरू विहार, पश्चिम बंगाल र सिक्किम मात्रै होइन, नेपाली साहसिक पर्यटकलाई समेत तान्न सकेका छैनौं ।’

होटेल व्यवसायी संघ, इटहरीका अध्यक्ष जीवन पराजुलीले पनि पूर्वको सुगम र सहज तमोर र्‍याफ्टिङको हुनुपर्ने जत्तिको प्रचार र प्रबर्द्धन हुन नसकेको बताँउछन् ।

इटहरीमा रहेको रिभर डीप र्‍याफ्टिङका सञ्चालक सुरेश बस्नेतले पूर्वका विभिन्न व्यवसायीहरूसँग र्‍याफ्टिङका आवश्यक प्राविधिक र मानवीय संसाधन भए पनि प्रचार नपुगेको बताए ।

पूर्वमा धनकुटाको मुलघाटदेखि सुनसरीको चतरासम्मको ६ घण्टा लामो ३४ किलोमिटरको तमोर र्‍याफ्टिङको रुट सबैभन्दा सुगम र सहज भएको बस्नेतले बताए । उनले भने, ‘सहज रुट र ३ हजार दैनिक मात्रै लाग्ने शुल्क भए पनि हामीले धेरैलाई तमोर र्‍याफ्टिङको बारेमा बुझाउनै सकेनौं ।’