डीपीएल क्रिकेटको अक्सनमा डेढ लाख रुपैयाँको बोलीमा करण केसी लगायत को को परे ?

१० फाल्गुन २०७४, बिहीबार ०७:५६

फागुन १०, काठमाडौं ।

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनमा करण केसी र बसन्त रेग्मीसँगै आरिफ शेखमाथि डेढ लाख रुपैयाँको बोली लागेको छ ।

बुधबार काठमाडौंमा आयोजित अक्सनमा डिभिजन टूमा राम्रो प्रदर्शन गरेका खेलाडीहरुमाथि अधिकतम बोली लागेको थियो र एक भन्दा बढी टिमले दाबी गरेपछि गोलाप्रथा गर्नुपरेको थियो ।

क्यानडाविरुद्ध नेपाललाई सनसनीपूर्ण जित दिलाएका करणसँगै आरिफ शेख महेन्द्रनगर युनाइटेडमा आवद्ध भएका छन् ।

गोलाप्रथाबाट विराटनगर किंग्सले बसन्त रेग्मी पाउँदा सागर पुन रुपन्देही च्यालेन्जर्सको पोल्टामा परेका छन् ।

सागर मात्र एक्ला खेलाडी हुन्, जसले डिभिजन टू नखेले पनि सर्वाधिक मूल्यको बोली लाग्यो ।

पृथु बाँस्कोटालाई विराटनगर र नरेश बुढाऐरलाई काठमाडौं गोल्डेन्सले १ लाख २० हजारमा भित्र्याएको छ ।

डिभिजन टूमा चम्किएका रोहितकुमार पौडेल महेन्द्रनगर युनाइटेडमा आवद्ध भएका छन् । चार टिमले उनीमाथि अधिकतम सीमा १ लाखको बोली लगाएपछि गोला हानिएको थियो, जसमा महेन्द्रनगर युनाइटेड भाग्यमानी ठहरियो ।

टिम चौराहाले विजय राना, योगेन्द्र सिंह कार्की, ललित भण्डारी, सोनु तामाङ र सुुनील धमलालाई एक लाखमा भित्र्याएको छ । रुपन्देही च्यालेन्जर्सले विक्रम सिंह भुसाल, सुशन भारी र सिद्धान्त लोहनीमाथि १ लाखको बोली लगाउँदा महेन्द्रनगर युनाइटेडले भुवना कार्कीलाई त्यति नै मूल्य तिरेको छ ।

काठमाडौं गोल्डेन्सले ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतो, साहव आलमलाई एकएक लाखमा अनुवन्ध गरेको छ भने सीवाईसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई एक लाखको बोली लगाएको छ ।

यस्तै डीपीएल टिम बिराटनगर किङ्ग्सले पवन शर्राफ, रामनरेश गिरी, शौरभ खनाल, दिलिप नाथ र अनिलकुमार साहमाथि एकएक लाखको बोली लगाएको छ ।