ठगी आरोपमा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

१० मंसिर २०७७, बुधबार १६:३२

काठमाडौँ , नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको हो । सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले इन्जिनिरिङ कलेज चाँगुनारायण भक्तपुरमा ठगी गरेको आरोपमा न्यौपानेलाई पक्राउ गरिएको बताउनु भयो ।

न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि उजुरी छ । उनी विरुद्धको अर्को मुद्दा अदालतमा विचराधीन छ ।

कलेजमा उनीहरुविरुद्ध तथ्यगत बिगो ८ करोड २१ लाख ६ सय ५० रुपैयाँ छ । यस्तै लेखा परीक्षणबाट खुल्न आएको बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

न्यौपानेको नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बराबरको ठगी गरेको आरोप छ ।