ट्राफिक जाम कम गर्न सुरुङमार्ग निर्माण हुने

१८ बैशाख २०७५, मंगलवार ०८:१७

वैशाख १८, काठमाडौं ।

कोटेश्वर पूर्वको बढ्दो ट्राफिक जाम कम गर्न भक्तपुर–काभ्रे जोड्नेगरी सुरुङमार्ग निर्माण हुने भएको छ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा यो सुरुङमार्गलाई समावेश गर्ने बताएको छ ।

 

सडक विभागको वैदेशिक शाखाका उपनिर्देशक सञ्जय श्रेष्ठका अनुसार सूर्यविनायक–धुलिखेल सुरुङमार्गका लागि जापान सरकारसँग ऋण सम्झौताको तयारी भइरहेको बताएका छन् । उनकाअनुसार यही मे महिनामा सम्झौता भएर काम अघि बढ्ने बताएको पाइन्छ ।

गत मार्चमा जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को एउटा टोली नेपाल आएर सुरुङ मार्ग निर्माणबारे छलफल गरेको थियो । सो छलफलमा ऋण सम्झौता गरेर अघि बढ्ने निर्णय भएअनुसार सम्झौता हुन लागेको हो ।

उनका अनुसार जाइकाको ऋण सहयोगमा भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १.५ किमी सुरुङ मार्ग निर्माण हुने बताएका छन् । सुरुङमार्गमा धुलिखेलतर्फबाट आउने र भक्तपुरतर्फबाट जाने दुई फरक फरक लेन हुने बताएको पाइन्छ ।

सुरुङमा भेन्टिलेटर र बत्तीको व्यवस्था गरिने पनि बताएकोे पाइन्छ । चौबीसै घण्टा उज्यालो रहने यो मार्ग अक्सिजन सुरक्षित हुने, सिसी क्यामरा र अग्नि नियन्त्रक उपकरण सडकमै राखिने उनले जानकारी दिएका छन् । सुरुङमार्गसहित सो स्थानको १६ किलोमिटर सडक ८ लेनमा विस्तार गरिने बताइएको छ । सुरुङमार्ग र सडक विस्तार गरी कूल २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको पाइन्छ ।

२ वर्षअघि जापानकै सहयोगमा तीनकुने–सूर्यविनायक सडक ६ लेनमा विस्तार भएको थियो । हाल यो सडकमा दैनिक करिब ७ हजार गाडी गुड्छन् ।

यसैगरी कोटेश्वर-भक्तपुरको अत्यधिक सवारी चापलाई दृष्टिगत गर्दै तीनकुने–जडिबुटी अन्डरपास रोड निर्माण गर्ने तयारी भइरहेको बताइएको छ । उपनिर्देशक श्रेष्ठकाअनुसार तीनकुनेस्थित मुनीभैरवबाट जडिबुटी हुँदै मनहरा खेला पारीसम्म अन्डरपास रोड निर्माणको अध्ययन भइरहेको हो।

यो सडक निर्माण गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी क्षेत्र प्रभावित हुने नहुने भन्ने अध्ययन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सर्वे लाइट र सुरक्षालाई बाधा नपर्ने गरी सडक विस्तार गर्न सकिने जनाएको छ ।