टेलिभिजन अन्तर्वार्तालाई लिएर उत्तेजित नहुन कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन

३० बैशाख २०७६, सोमबार १८:४३

काठमाण्डौ – समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानित हुने ढंगले एक टेलिभिजनमा प्रश्न सोधिएको पार्टीले जनाएको छ ।

आइतबार राति एक राष्ट्रिय टेलिभिजनबाट राति ९.०० बजे प्रसारण हुने लाइभ अन्तर्वार्ताका पत्रकारले आचारसंहिताविपरीत प्रश्न सोधेको र अभद्र व्यवहार गरेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्दै आएको बताउँदै आइतबार राति एक राष्ट्रिय टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एवं कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

साथै, पार्टीले पत्रकारिताको आचरणविपरीतका प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचार गृह, संचारकर्मी र प्रेस काउन्सिलसहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई अपिल गरेको छ ।

सोमबार दिउँसो वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको क्षेत्रीय कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेको आरोप टेलिभिजनले लगाएको छ ।