झ्यालबाट संसद् प्रवेश गर्ने नेता गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध

१३ फाल्गुन २०७६, मंगलवार ०९:४३

काठमाडौं, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ । झ्यालबाट संसद् प्रवेश गर्ने नेता गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको छ ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो । राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन नपाउने संवैधानिक व्यवस्था पनि परिवर्तन गर्न नेकपाले कार्यदल बनाएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाए पनि यो विषय गोप्य राख्ने निर्णय पार्टीले गरेको थियो । सोमबार नेता नेपालले कार्यदलको पहिलो बैठक बस्न नेम्वाङ र देवकोटालाई आफ्नो निवास कोटेश्वर बोलाएका थिए ।

तर, नेम्वाङले कार्यदलमा बस्न ठाडै अस्वीकार गरे । स्रोतका अनुसार उनले एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने विषय अनुचित भएको भन्दै आफू त्यसमा सहभागी नहुने स्पष्ट पारे ।

‘एउटा व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने प्रक्रियामा म सामेल हुन्नँ, मेरो अनुरोध छ, यस्तो विषयको अगुवाइ गरेर तपाईं पनि कलंक नबोक्नूस्,’ स्रोतका अनुसार नेता नेपाललाई नेम्वाङको सुझाब थियो । नेम्वाङको अडानपछि कार्यदल अलपत्र परेको छ ।

गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमले प्रतिनिधिसभा सदस्य बन्न पटकपटक गरेको कोसिस असफल भएपछि राष्ट्रिय सभामा प्रवेश गर्ने रहर गरेका हुन् । यसका लागि नेकपा नेतृत्व सहमत छ । तर, उनले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन पाउनुपर्ने हठ गर्दै आएका छन् । यसमा पनि पार्टीको मूल नेतृत्व सहमत भए पनि कार्यकर्तापंक्ति र जनमानस विरोधमा छ ।

बर्दिया २ बाट उम्मेदवार बनेका नेता गौतम कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग सात सय ५३ मतान्तरले पराजित भएका थिए । वामदेवले ४४ हजार ७६ र सञ्जयले ४४ हजार ८ सय २३ मत प्राप्त गरेका थिए । हारलगत्तै नेता गौतमले आफूविरुद्ध पार्टीभित्रैबाट अन्तर्घात भएको बताएका थिए ।

केही दिनपछि बालकोटस्थित निवासमै पुगेर उनले अध्यक्ष ओलीसमक्ष अन्तर्घातको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका थिए । प्रदेश कमिटीले तीन सदस्यीय छानबिन समिति बनाएर केही स्थानीय नेता–कार्यकर्ताको बयान पनि लियो, तर छानबिन पूरा नहुँदै गौतमले संसद्मा ‘इन्ट्री’का लागि कसरत सुरु गरे ।

तर, पटकपटक असफल भए पनि गौतमको संसद् प्रवेशको कसरत भने रोकिएन । पार्टीभित्रको महत्वपूर्ण जिम्मेवारीपछि उत्साही बनेका उनले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई मनाएर राष्ट्रिय सभामा जाने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने महत्वाकांक्षा कायमै राखे ।

२४ पुसमा भैंसेपाटीस्थित गौतमनिवासमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकमा उनलाई राष्ट्रिय सभामा पठाउने भद्र सहमति भयो । बहुमत नेताको साथ पाएका गौतमले पार्टीमा सर्त राखे– राष्ट्रिय सभाका सांसदले पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गरिनुपर्ने ।

गत २९ मंसिरदेखि ७ पुससम्म चलेको सचिवालय बैठकले गौतमकोे प्रस्तावमाथि सामान्य छलफल भए पनि संविधान संशोधनको प्रस्ताव अस्वीकार गरेको थियो । यद्यपि, गौतमको सर्तमा सकारात्मक बनेका प्रचण्डले पहल लिने आश्वासन दिए पनि सचिवालयमा संविधान संशोधनबारे सकारात्मक धारणा बनेन ।

त्यसपछि १८ पुसको सचिवालय बैठकले गौतमबाहेक १६ जनालाई ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्‍यो । त्यही बैठकको निर्णयअनुसार सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

राजनीतिक विश्लेषक कृष्ण खनालले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने कुरा टिप्पणी गर्न पनि लाज लाग्ने विषय भएको बताए । ‘एउटा नेताविशेषका लागि भनेर संविधान संशोधन गर्ने विषयमा टिप्पणी गर्न लाज लाग्ने कुरा हो । एउटा नेताको लागि संविधान संशोधन हुन्छ भने संविधानको के अर्थ ? यो कुनै किसिमले औचित्यपूर्ण देखिँदैन,’ उनले भने ।
(आजको नयाँ पत्रिकाबाट)