ज्ञानेन्द्रको छक्कासँगै डीपीएलको प्ले आफमा विराटनगर किङ्ग्स पराजित

२३ चैत्र २०७४, शुक्रबार ०९:४६

चैत २३, काठमाडौं ।

कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम बलमा छक्का हान्दै काठमाडौं गोल्डेन्सलाई विराटनगर किङ्ग्समाथि ५ विकेटको जित दिलाएका छन् ।

यो जितसँगै काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) को प्लेअफमा स्थान बनाएको छ ।

विराटनगरले दिएको १६५ रनको लक्ष्य काठमाडौंले अन्तिम बलमा ५ विकेट गुमाएर भेट्टायो । उसलाई अन्तिम २ ओभरमा २० रन चाहिएको थियो । तर, पारस खड्को बलमा सन्नी पटेलले दुई छक्का हानेपछि १९ औं ओभर काठमाडौंको पक्षमा रहृयो ।

पहिलो बलमा रामनरेश गिरीले रन दिएनन् । दोस्रो बलमा पटेलले एक रन लिए । तेस्रो बलमा ठूलो सर्ट खेल्ने प्रयास गरेका ज्ञानेन्द्र मल्लको क्याच ड्रप हुनपुग्यो । चौथो बलमा रन आउटको मौका थियो तर, त्यसमा पनि बिराटनगर किङ्ग्स चुक्यो ।

पाँचौं बलमा रामनरेशले रन नदिएपछि अन्तिम बलमा एक रन चाहिएको थियो, जसमा ज्ञानेन्द्रले छक्का हान्दै जित दिलाए । मल्ल ६८ रनमा अविजित रहे ।

पट्टेलले १० बलमा नटआउट २५ रन बनाए । भूपेन्द्र थापाले ३६ रन बनाउँदा पुष्प थापाले २४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । दिलिप नाथ र अनिलकुमार साहले ३८ रनको साझेदारी गरे ।

साह १० रनमा आउट भए । बाबर हायातले आक्रमक पारी खेले । दिलिपसँग ४२ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि बसन्त रेग्मीसँग ४४ रनको साझेदारी गरे । उनले ३३ बलमा ७६ रन बनाए । दिलिप नाथले ३३ रन बनाए ।

काठमाडौंका ललीत राजवंशीले ३, रासिद खानले २ र सुवोध भाटीले एक विकेट लिए ।