जिल्ला नेतृत्व चयन गर्दै संघीय समाजवादी फोरम

१२ बैशाख २०७६, बिहीबार ११:२५

जनकपुर, सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ का जिल्लाहरुमा नेतृत्व चयन प्रक्रियालाई तीब्र बनाएको छ ।

महोत्तरी जिल्लामा भएको अधिवेशनबाट अध्यक्षमा नागेन्द्र यादव चुनिएका छन् । त्यस्तै धनुषामा पशुपति यादव निर्वाचित भएका छन् ।

त्यस्तै रौतहट जिल्लामा अध्यक्षका लागि धर्वेन्द्र पटेल र वीरेन्द्र यादव अध्यक्षका प्रत्याशी देखिएका छन् । केहि दिन पछि हुने निर्वाचनबाट उनीहरुमध्येबाट एक जना अध्यक्षमा चयन हुने संघीय समाजवादी फोरम नेपालको मधेश प्रदेश समितिले जनाएको छ ।
सिरहा, सप्तरी, रौतहट लगायतका जिल्लामा भने विवाद रहेकाले प्रदेश अधिवेशन पछि नेतृत्वको टुंगो लगाइने भएको छ ।

प्रदेश अधिवेशन यही शुक्रबार र शनिबार लहानमा हुने भएको छ । प्रदेश अध्यक्षका लागि प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव र फोरमका प्रदेश सचिव शेषनारायण यादव सहित ३ जना दाबेदार रहेका छन् । उनीहरु अहिले आफ्नो पक्षमा माहोल बनाउन आन्तरिक प्रचारप्रसार तथा तयारीमा लागिपरेका छन् ।