जलविद्युतको घट्यो, होटेल समूहको बढ्यो ः सेयर,

२० माघ २०७४, शनिबार ०४:२२

माघ २०, काठमाडौं ।

नेप्सेले १४ सय विन्दुलाई टेवा पाउन थालेको महिना दिनभन्दा बढी भयो । लगानीकर्ताहरु १४ सय विन्दुभन्दा तल बजार झर्ने गरी सेयर बिक्री गर्न अनिच्छुक देखिन्छन् ।

‘लगानीकर्ताहरु त्यही विन्दुमा टिकिरहेको देखिन्छ, अधिकांश वाणिज्य बैंकहरुको मूल्य दुई सयदेखि तीन सय ५० कै हाराहारीमा रहेकाले पनि लगानीकर्ताले सेयर बिक्री गरिहाल्न रुचाएका छैनन्,’ एक ब्रोकर भन्छन् ।


गत साताका पछिल्ला दिनमा कारोबार रकममा केही वृद्धि भएकाले बजारसँग आशावादी हुन सकिने अवस्था देखिएको उनी बताउँछन् । राजनीतिक घटनाको विकास क्रमको प्रभाव अन्यत्रझैं नेपाली सेयर बजारमा पनि देखिने गरेको छ ।

गत साता बजारमा प्रभाव पार्ने राजनीतिक परिघटना थिए, छिट्टै नयाँ सरकार गठन हुने अपेक्षा र भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमण । बजारमा दुवै परिघटनाको सकारात्मक प्रभाव देखियो ।

नयाँ सरकार गठनसँगै सरकारी खर्च बढ्ने र बैंकिङ क्षेत्रमा हाल देखिएको कर्जायोग्य पुँजी अभाव अन्त्य हुने अपेक्षा पनि लगानीकर्तामा देखिन्छ । ब्रोकरहरुका अनुसार अहिले बजारमा लगानीकर्ताहरुले छानी–छानी सेयर खरिद बढाएका छन् ।

  • जलविद्युत्को परिसूचक घटे्यो

गत साता घटेको परिसूचक जलविद्युत समूहको मात्र देखियो । उक्त समूहमा सानिमामाई हाइड्रोको कारोबार सबैभन्दा बढी भयो । उक्त कम्पनीको आठ करोड २५ रुपैयाँको सेयर खरिद–बिक्री भयो ।

प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीमा बिक्री भएको सेयरको ‘लकिङ पिरियड’ सकिन लागेकाले मूल्य घट्ने र कारोबार हुने परिमाण बढ्नु स्वाभाविकै थियो ।

यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य पनि केही घट्यो । प्राथमिक बजारमा प्रतिकित्ता पाँच सय एक रुपैयाँमा बिक्री भइरहेको उक्त कम्पनीको सेयर दोस्रो बजारमा पुग्दा ओरालो लागेको देखियो । तथापि, बुटवल पावरले आफ्नो सेयर प्रतिकित्ता ६ सय रुपैयाँभन्दा माथिको मूल्य कायम राखेको छ ।
परिसूचक सात अंकले बढ्यो

सातागत आधारमा नेप्से परिसूचक सात अंकले बढेको छ । अघिल्लो साताको बिहीबार नेप्से परिसूचक १४ सय चार दशमलव ५३ विन्दुमा थियो । गत साता अन्तिम दिन १४ सय ११ विन्दुमा चढेर अडिएको छ ।

अघिल्लो साता पाँचै दिन कारोबार भएकामा गत साता चार दिन मात्र बजार खुल्यो । त्यसका बावजुद कारोबार रकम भने करिब २१ प्रतिशतले बढ्यो । सातामा कुल एक अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।


  • यस्तै, होटेल समूहमा वृद्धि

गत साता सबैभन्दा बढी वृद्धि होटेल समूहमा देखियो । र, राजनीतिक स्थिरताको आशा लगानीकर्तामा झल्कियो । होटेल समूहको परिसूचक २३ र बीमा समूहको ३४ अंकले बढेको छ ।

होटेल समूहमा कम संस्था सूचीकृत रहनु, बैंकलगायतले संस्थागत लगानी गर्न पाउने व्यवस्था र केही वर्षदेखि ती संस्थाहरुबाट लाभांश प्राप्त हुने कारणले पनि यस क्षेत्रमा आकर्षण बढेको हो ।

यस्तै, दीर्घकालीन लगानीका लागि अन्यको तुलनामा मध्यम मूल्यमा कारोबार भइरहेका बैंकहरुमा पनि लगानी बढिरहेको देखिन्छ । अधिकांश वाणिज्य बैंकहरुको वित्तीय विवरण प्रकाशित भइसकेको छ ।

र, त्यसमा नाफाका मिश्रित सूचक आएका छन् । तर, मूल्य कम रहेकाले लगानीकर्ताहरु बैंकको सेयर बिक्री गर्न अनिच्छुक देखिएका छन् ।

  • नयाँ सेयर थपियो 

गत साता बजारमा एक करोड ६७ लाख कित्ता नयाँ सेयर थपियो

काबेली बिकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र लक्ष्मी बैंकको बोनस सेयर सूचीकृत भएको हो । नयाँ सेयर सूचीकरणसँगै बजारमा आपूर्ति पक्षमा उच्च वृद्धि हुँदै गएको छ ।