जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

२२ श्रावण २०७७, बिहीबार ११:०६

काठमाडौं , ओखलढुङगाको चिशंखुगढी गाउँपालिका १ ठुलीबेसीका १९ वर्षीय लोकराज अधिकारीलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ ती बालिकालाई “चकलेट दिन्छु” भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोग अधिकारीमाथि लागेको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

यस्तै,कैलालीको टीकापुर नगरपालिका ६ बस्ने २८ वर्षीय सुमनकुमार चौधरीलाई ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार साउन ५ गते ती महिलालाई जबरजस्ती करणी गरी चौधरी फरार भएका थिए।

उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा भजनी नगरपालिका ४ खैलाडबाट फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।