जनप्रतिनिधिले राजीनामा दिएर शिक्षण पेशा रोजे

२ मंसिर २०७६, सोमबार १३:२४

सल्यान , सल्यानका एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षण पेशा रोजेका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक बनेका हुन् । तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् । शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उत्तीर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्ष निकालेको बताए। ‘वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेँ,’ उनले भने ।

आगामी दिनमा राजनीतिमा नफर्किने सोचेका बुढामगरले भने, ‘अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु।’ उनले गत बुधबार गाउँपालिकामा आएर राजीनामा दिएका हुन्। सोही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले सोही बैठकबाट बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए ।