चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ

१ असार २०७५, शुक्रबार ११:१४

असार १, काठमाडौं ।

विजुली चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् ।

चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बुधबारको बैठकले विजुली चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।

यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्त रुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम सुरु गरिसकेका छन् ।

सुरक्षाकर्मीसहित खटिएको प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा र्फममा विद्युत प्रयोग गरेको फेला पारेपछि पक्राउ गरेको थियो । पक्राउ गरी लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार रिहा भएका छन् ।

यसैगरी,राजविराज वितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका-५का वडाध्यक्ष रामानन्द चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्ष सहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् ।

विद्युत चोरी नियन्त्रण ऐन-२०५८ र नियमावली २०५९ मा विद्युत चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडको आधारमा हिसाब गरी एक वर्षको जरिवाना तिराउने व्यवस्था छ । यही व्यवस्थाअनुसार निर्धारण गरिएको जरिवाना तिरी दुवै वडाध्यक्ष छुटेका हुन् । यसअघि बर्दियाको मधुवनी नगरपालिका-२ का वडाध्यक्ष पहाडी थारु पनि विद्युत चोरीमा पक्राउ परी जरिवाना तिरेर रिहा भएका थिए ।

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने ,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर तथा वितरण लाइनको सदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।