चितवनमा दुर्घटनामा ४ जनाको मृत्यु

२३ श्रावण २०७५, बुधबार ११:५७

साउन २३, काठमाडौं ।

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० भानुचोकमा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

दुर्घटनामा परी २ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रौटहटको चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामा (ट्रक चालक-सहचालक), काठमाडौंको थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापा (बस चालक), तथा यात्रु ताप्लेजुङको फुङलिङ नगरपालिका– १ का ४२ वर्षीय तारा बराल छन् ।

काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना६ख १७४१ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना५ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो ।

घाइते १३ जनाको पुरानो मेडिकल कलेज र ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।