चपली हाइट–३ मा अभिनेत्री फेरबदल

१२ भाद्र २०७६, बिहीबार ११:३२

काठमाडौं, चपली हाइटको दुईवटा शृंखलाको सफलतापछि चपली हाइट–३ निर्माण हुँदै छ । तर, छायांकनमा जानुअघि यो चलचित्रका कलाकार व्यापक फेरबदल भएका छन् । दुई नायिका यो फिल्ममा अनुबन्धित नभएपछि अन्ततः अभिनेत्री स्वस्तिमा खड्कालाई अनुबन्धन गरिएको छ ।

यो पहिला सुरुमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिने भनिएको थियो । उनी पनि चपली हाइट–३ प्रतिसकारात्मक थिइन् । अन्त्यमा साम्राज्ञीले दुईवटा चलचित्र रिलिजको तयारीका कारण चपली हाइट–३ नखेल्ने भनेपछि निर्माताले अरू नायिकालाई मुख्य भूमिकाको लागि प्रस्ताव गरेका हुन् ।

साम्राज्ञीपछि सो भूमिकामा अभिनेत्री सृष्टि श्रेष्ठलाई राख्ने समाचार बाहिर आयो । फिल्म चपली हाइट–३ मा सुरुमा सौगात मल्ल चयन भएका थिए । उनले आफ्नी प्रेमिका सृष्टि श्रेष्ठलाई राख्न निर्माता अर्जुन कुमारलाई प्रस्ताव गरेका थिए । तर, त्यो भूमिकामा अर्जुन कुमारले सृष्टिलाई अस्वीकार गरे । त्यसपछि सौगातले आफू दुईवटा फिल्ममा व्यस्त रहेको भन्दै नखेल्ने निर्णय गरे । यसरी फिल्म चपली हाइट–३ मा साम्राज्ञीले काम नगर्ने भनेसँगै सृष्टिलाई निर्माताले राखेनन् । यही चलचित्रमा यतिबेला अभिनेत्री स्वस्तिमा खड्का चयन भएकी छन् । स्वस्तिमाको दुई साताअघि मात्र नयाँ फिल्म हजार जुनीसम्म रिलिज भएको छ । त्यो फिल्मले बक्स अफिसमा प्रशंसनीय व्यापार गरेन् । तर, स्वस्तिमाले गत वर्ष अभिनय गरेको फिल्म ‘बुलबुल’बाट यो वर्ष राष्ट्रिय अवार्ड र सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड जितिन् । अभिनेत्री स्वस्तिमाले यो फिल्मको कथा निकै फरक भएकाले आफूले काम गरेको बताएकी छन् ।

फिल्म चपली हाइट र चपली हाइट–२ को सफलतापछि आफूले चपली हाइट–३ निर्माण गर्न लागेको निर्माता अर्जुनकुमारले बताए । यो शृंखलाको पहिलो फिल्म चपली हाइटमा अभिनेत्री विनिता बराल मुख्य भूमिकामा थिइन् । यो फिल्मलाई दीपेन्द्र के। खनालले निर्देशन गरेका थिए । चपली हाइट–२ को निर्देशन पनि दीपेन्द्रले नै गरेका थिए । तर, फिल्मले भनेको जस्तो व्यापार गरेन । सो फिल्ममा अभिनेत्री परमिता आरएल राणाले निकै कामुक रूपमा आफूलाई प्रस्तुत गरेकी थिइन् । फिल्ममा पारमिता र आयुष्मान देसराज जोशीको भूमिका त्यति प्रभावशाली भएन ।

अहिले चपली हाइट–३ को निर्माण तयारी भइरहेको छ । यो चलचित्रकोे निर्देशन निकेश खड्काले गर्दै छन् । अर्जुनकुमारकै अघिल्लो फिल्म फाटेको जुत्ताको निर्देशन गरेका खड्काको कामप्रति सन्तुष्ट रहेको अर्जुनकुमारले उनलाई चपली हाइट–३ को निर्देशन जिम्मेवारी सुम्पिएका हुन् ।

यसअघि निकेश र निर्माता अर्जुनबीच फिल्म ‘फाटेको जुत्ता’ मा टिमअप भएको थियो । ‘चपली हाइट–३’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ पनि फाइनल भइसकेका छन् । यो फिल्ममा अहिले प्रतीक श्रेष्ठ, आमिर गौतमलगायतका कलाकार चयन भएका छन् । यो फिल्मको कथा सस्पेन्स थ्रिलर हुने निर्माता अर्जुन कुमारले बताए । फिल्मको छायांकन दसैंलगत्तैबाट सुरु हुने भएको छ ।