‘गोरे’सहित तीन जनालाई दिउँसो काठमाडौं ल्याइने : ३८ क्वीन्टल सुन प्रकरण

२८ जेष्ठ २०७५, सोमबार ०४:३७

जेठ २८, काठमाडौं ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार दिउँसो काठमाडौं ल्याइने भएको छ ।

उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो ।

जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिइसकेको छ । सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत उनीहरुलाई काठमाडौं ल्याइने प्रहरी स्रोतले बतायो ।

गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको थियो ।

तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । ‘सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको वेला छानबिन समितिले पनि थप अनुसन्धान गर्ने छ’ प्रहरी स्रोतले भन्यो ।

१० जेठमा पक्राउ परेका गोरेले सुन तस्करी स्वीकार्नुका साथै श्याम खत्री र मोहनकुमार अग्रवाललाई पोलेका छन् । तर, अन्य लगानीकर्ताबारे बोलेका छैनन् ।

अनुसन्धान टोलीलाई छलेर लामो समय फरार भएका एसएसपी श्याम खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । उनले इन्कारी बयान दिएका छन् । भुजुङ भने अनुसन्धानको प्रारम्भीक चरणमै पक्राउ परेका थिए ।