कोरोना भाइरसका कारण होटल क्षेत्रमा ठूलो संख्यामा रोजगारी गुम्नसक्ने

२९ चैत्र २०७६, शनिबार १३:०२

काठमाडौं, होटल एसोसिएसन अफ नेपाल (हान) ले होटल उद्योगका समस्या तत्काल समाधान नभए यो क्षेत्र धराशयी बन्ने र ठूलो सङ्ख्यामा रोजगारी गुम्न सक्ने जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै हानले यस्तो परिस्थितिमा होटलका कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक दिन होटल प्रतिष्ठानले मात्र नसक्ने भएकाले सरकारले पनि जिम्मा लिनुपर्ने बताएको छ ।

कोरोना भाइरसका कारण खर्बौं लगानी भएको होटल उद्योग बन्द भई धराशयी हुने निश्चित प्रायः रहेको अवस्थामा राज्यले पनि यसलाई आफ्नो दायित्वभित्र राख्नुपर्ने हानले उल्लेख गरेको छ ।

सरकारले उपलब्ध गराएको राहत तथा सेवासुविधा पर्यटनमैत्री नहुँदा थप समस्या परेको गुनासो पनि हानको छ । अहिले मुलुकभरका होटल उद्योगले करिब ११ लाखलाई रोजगारी प्रदान गरेको होटल व्यवसायीले जनाएका छन् ।