कोरोनाविरुद्ध खोप परीक्षण

२२ फाल्गुन २०७६, बिहीबार ११:१७

काठमाडौं, विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ ।

हालसम्म कोरोनाले मर्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत कोरोना सङ्क्रमण कोरिया, इरान र इटालीको रहेको बताए ।

‘यति बेला कोरोनालाई लिएर एक प्रकारको त्रास जनतामा रहेको हामीले बुझेका छौं, तर केही थाहा नभएको अवस्थामा यसको जोखिम जति बढी हुन्छ, थाहा पाइसकेपछि केही कम गर्न सकिन्छ’, उनले भने ।

कोरोना भाइरस, यो हुने कारणका बारेमा धेरै कुरा पत्ता लागेको नयाँ विज्ञप्तिमार्फत उनले बताए ।

‘कोरोना सार्स जस्तो, मर्स जस्तो र इन्फ्लुएन्जा जस्तो हैन, यो एउटा निकै फरक विशेषता भएको भाइरस हो, तर यो इन्फ्लुएन्जा (मौसमी फ्लु) मा जस्तै नाक र मुखबाट बग्ने साना कणबाट एकअर्कामा सर्छ’, उनले इन्फ्लुएन्जा र कोरोनाबीच धेरै अन्तर रहेको प्रस्ट्याउँदै भने, ‘प्राप्त परीक्षणको तथ्याङ्क अनुसार पहिलो फरक इन्फ्लुएन्जाजस्तै सहजै यो सर्दैन किनकि जसलाई इन्फ्लुएन्जा भएको हुन्छ, त्यो बढी रफ्तारमा सर्छ । कोरोनामा यस्तो देखिएको छैन ।’

अहिलेको आवश्यकता कोरोनाविरुद्धको एन्टिबडी खोज्नु रहेको औँल्याउँदै उनले भइरहेका अध्ययनले सघाउने विश्वास व्यक्त गरे । विश्व स्वास्थ्य सङ्गठनले निर्माण गरेको प्रोटोकल अनुसार हरेक देशले अध्ययन गरेर त्यो सार्वजनिक गर्न सक्ने विषयमा हौस्याए ।

दोस्रो भिन्नताका बारेमा प्रस्ट्याउँदै उनले मौसमी फ्लुभन्दा कोरोनाले अधिक गम्भीर रोग निम्त्याउँछ । मौसमी फ्लुको प्रतिरोधात्मक क्षमता निर्माण भइसकेको छ तर कोभिड–१९ नयाँ भाइरस भएकाले यसको प्रतिरोध बनेको छैन ।

यसका कारण धेरै मानिस अझै सङ्क्रमणको जोखिममा छन् । यसकै कारण केही मानिस गम्भीर रोगले ग्रस्त हुन सक्ने उनले बताए ।

मौसमी फ्लुको तुलनामा कोरोनाबाट बढी मृत्युदर कायम भएको छ । सङ्क्रमितमध्ये मौसमी फ्लुले एक प्रतिशत कम मृत्युदर रहेको देखिएको छ । तर हालसम्मको परिणामले कोरोनाबाट कुल सङ्क्रमितमध्ये ३.४ प्रतिशतको मृत्यु भइरहेको देखाएको छ ।(आजको गोरखापत्र दैनिकबाट)