कोरोनाको वहानामा उपभोग्य सामाग्रीको कृत्रिम अभाव

३ चैत्र २०७६, सोमबार १५:१८

बुटवल , बुटवल तथा आसपासमा कोरोनाको वहानामा कालोवजारी बढेको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघ संस्थाहरुले सघाउने प्रतिवद्धता समेत जनाएका छन् ।

बुटवलमा आयोजना गरेको एक साक्षात्कारमा प्रदेश ५ स्वास्थ निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ अधिकृत रोशनलाल चौधरीले प्रदेशमा १ सय १९ वटा आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतंकित हुने अवस्था नरहेको बताए ।

‘सचेत बनौँ । प्रदेश सरकार क्वारेन्टाइनको खोजीमा छ । जनता सचेत हुनुपर्ने छ । तर आतंकित हुने अवस्था छैन,’ उनले भने ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रणका लागि सरकारले उचित तयारी गर्न नसकेको बताए । कोरोनाका बारेमा बास्तविक सूचना दिन सरकार चुकेको भन्दै सरकारले वास्तविक सूचना दिनुपर्ने बताए ।

बजारमा कोरोनाको वहानामा उपभोग्य सामाग्रीको कृत्रिम अभाव देखिएको भन्दै उनले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले दक्षिणी सीमा खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । अनावश्यक स्टक राखेर बजारमा अभाव देखाउन नहुने भन्दै उनले कृषिजन्य वस्तुमा समस्या नरहेको बताए ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि संघले सरकारलाई सघाउन तयार रहेको बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था आएको बताए । स्वदेशी उत्पानतर्फ अग्रसर हुनुपर्ने भन्दै उनले सरकारले उत्पादनका लागि उत्पे्ररण दिनु पर्ने बताए ।