केपी ओली र प्रचण्डबीच वार्ता

२९ माघ २०७४, सोमबार १०:२५

माघ २९, काठमाडौं ।

पछिल्ला दिनहरुमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच केही दिनको फरकमा निरन्तर ‘वान टु वान’ छलफल भइरहेका छन् ।

ओली र प्रचण्डले सोमबार पनि ‘गोप्य वार्ता’ गरेका छन् । ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । अधिकारी एकजना क श्रेणीका ठेकेदार हुन् र माओवादी अध्यक्ष प्रचण्ड निकट मानिन्छन् ।


पार्टी एकतामा संशय पैदा भइरहेका बेला र प्रचण्डले अर्को फड्को हान्ने अभिव्यक्ति दिएपछि तरंग उत्पन्न भएका बेला दुई नेता एक्ला एक्लै वार्तामा बसेका छन् ।

वार्तामा के भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् । ओलीसँगको वार्ता लगत्तै माओवादी अध्यक्ष प्रचण्डले सबै प्रदेशका माओवादी संसदीय दलका नेताहरुलाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका छन् ।

प्रचण्डको फोनपछि प्रदेश ३ का नेता शालिकराम जमरकट्टेल मन्त्रालय नतोकिए पनि सरकारमा सहभागी हुन तयार भएका हुन् ।

दुवै नेताले पार्टी एकता निष्कर्षमा पुग्न लागेको जानकारी दोस्रो तहका प्रभावशाली नेतालाई गराएका छन् ।

पार्टी एकता संयोजन समिति सदस्य समेत रहेका एमाले महासचिव ईश्वर पोखरेलले एकता प्रक्रिया निष्कर्षमा पुग्न लागेको बताए ।