‘कृ’ निर्माताले शम्भु प्रधानलाई ११ लाख तिर्ने सहमतिसँगै गिरी हिरासत मुक्त

१४ चैत्र २०७४, बुधबार ०९:१७

चैत १४, काठमाडौं ।

निर्माता सुवास गिरीले निर्देशक शम्भु प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने भएका छन् । ११ लाख रुपैयाँ तिर्ने र चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत युटुबबाट हटाउने सहमति भएको छ । सहमतिसँगै निर्माता सुवास गिरी हिरासत मुक्त पनि भएका छन् ।

मंगलबार छलफलका लागि भन्दै प्रहरी परिसर, टेकुमा पुगेका गिरीलाई प्रहरीले सोधपुछका लागि भन्दै हिरासतमा राखेको थियो ।

चलचित्र ‘संझना’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत आफ्नो चलचित्र ‘कृ’मा अनुमतिविना नै समावेश गरेको भन्दै यसका निर्देशक शम्भु प्रधानले केहि दिन अगाडि प्रहरीसमक्ष उजुरी दिएका थिए ।

शम्भु प्रधानले सुरुवातमा २१ लाखको डिमाण्ड गरेका थिए । तर, पछि गीत युटुबबाट हटाउने र ११ लाख तिर्नेगरि सहमित भएको हो । सहमतिसँगै निर्माता गिरी हिरासतमुक्त भएका छन् ।

चलचित्रका अर्का निर्माताको रुपमा चर्चामा आएका नायक भूवन केसी भने यो केशबाट उम्किएका छन् ।

चलचित्र विकास बोर्डले निर्मातामा भूवन केसीको नाम नभएको भन्दै प्रहरीलाई पत्र पठाएपछि उनी यो केशबाट बचेका हुन् ।