कांग्रेस संसदीय दलको नेतामा प्रकाशमानको दावी, देउवाजीलाई सर्वसम्मत नछाड्ने : नेता प्रकाशमान

७ फाल्गुन २०७४, सोमबार ०७:००

 देउवाजीलाई सर्वसम्मत नछाड्ने : नेता प्रकाशमान

फागुन ७, काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले औपचारिक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरेका छन् ।

यसअघि कांग्रेसका अन्य नेताहरुले सर्वसम्मत हुने भए महामन्त्री शशांक कोइरालालाई र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई संसदीय दलको उम्मेदवार बनाउने बताएका थिए ।

तर, सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले संसदीय दलको नेतामा आफ्नो दावी रहेको बताएका हुन् ।

प्राविधिक विद्यार्थी परिषद केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले देउवालाई सर्बसम्मत संसदीय दलको नेता बनाउन नसकिने बताए ।

कांग्रेस संसदीय दलको पूर्वउपनेता रहेका नेता सिंहले भने, ‘शेरबहादुर देउवाजीलाई सर्वसम्मत छाड्नु हुदैन भन्ने बिचार बोकेको व्यक्ति हुँ म ।

त्यसबारे पार्टीमा पनि छलफल चलिरहेको छ । त्यसक्रममा म अगाडि बढिरहेको छु ।’

उनले कांग्रेसलाई संस्थापक नेताहरुको बेलामा जस्तै लोकप्रिय बनाउनका लागि हालको नेतृत्व परिवर्तन हुनुपर्ने धारणा पनि राखे ।

‘नेतृत्व परिवर्तनको आवश्यकता छ भनेर म अगाडि बढिरहेको छु,’ उनले भने, ‘पार्टीलाई अब जोगाउनुपर्यो ।’

हालको नेतृत्वले पार्टीलाई विधि, विधानअनुसार चलाउन नसक्दा कमजोर हुँदै गएको नेता सिंहको भनाइ छ ।