कांग्रेसनिकट आदिवासी जनजातिले सौतेनी व्यवहार’ गरेको भन्दै पार्टी छाड्ने धम्की

१ कार्तिक २०७४, बुधबार १४:४९

कात्तिक १, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाति संघले पार्टीले आदिवासी जनजातिलाई ‘सौतेनी व्यवहार’ गरेको भन्दै पार्टी छाड्ने धम्की दिएको छ ।

 

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संघमा रहेकाहरुले जनजातिलाई स्थानीय तह, प्रदेश र केन्द्रमा समानुपातिक हैसियतसमेत नदिएको भन्दै पार्टी छाड्ने धम्की दिएका हुन् ।  प्रदेश, संघको निर्वाचन र २२ सदस्यीय संसदीय बोर्डमा समेत आदिवासीलाई समावेश नगराएकोमा उनीहरुले आपत्ति जनाए ।

 

पार्टीले स्थापित गरेको मूल्य–मान्यतामाथि प्रहार भइरहेको भन्दै उनीहरुले बारम्बार नेतृत्वको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगरेको आरोप लगाए ।  बुधबार पार्टी कार्यालय सानेपामा ज्ञापनपत्र बुझाउन समय लिएका उनीहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले झुक्याएको भन्दै नाराबाजीसमेत गरेका थिए ।