करेन्ट लागेर ८ कामदार घाइते

१९ श्रावण २०७६, आईतवार ११:१४

नवलपरासी, विद्युत प्राधिकरणको बर्दघाट शव स्टेशन र वितरण तथा ग्राहक शाखा बर्दघाट प्रशाखा बर्दघाटको लापरवाहिका कारण पोल गाड्न लागेका ८ जना कामदारलाई करेन्ट लागेर घाइते भएका छन्।

बर्दघाट नगरपालिका ४ शिवनगर कलौनीभित्र विद्युत पोल गाड्नको लागि सवस्टेसनबाट लाइन काटेर काम सुरु गरिएको भए पनि लाइन नकाटिएका कारण कामदारलाई करेन्ट लागेको हो। घटनाको बारेमा वितरण तथा ग्राहक शाखाका प्रमुख हंशलाल शाहसँग कुरा गर्दा उनले घटना सामान्य भएको भन्दै घाइतेको नाम बताउनुको साटो उल्टै समाचार प्रशारण नगरिदिन आग्रह गरे।

ठेकेदार लगाएर काम गरेका कारण आफूलाई अफ्ठेरो पर्ने बताउँदै उनले सामान्य कुरा बाहिर ल्याउनु नपर्ने भन्दै समाचार नबनाई सहयोग गर्नका लागि अनुरोध गरेका थिए। बुटवल ग्रिड महाशाखाअन्तर्गत बर्दघाट सव स्टेशनका ईन्चार्ज कृष्ण प्रसाद शर्माले भने प्रशाखका कर्मचारी आफैँले सवस्टेशनमा पुगेर बर्दघाट फेडर ट्रिप गरी विद्युत बन्द गराएको बताए।

उनले सवस्टेशनको त्यसमा कुनै भूमिका नभएको बताए। विद्युतकै एक कर्मचारीले आफ्नो नाम नबताउँने शर्तमा प्रशाखा र सवस्टेशन बीच राम्रे समन्वय नभएका कारण घटना घटेको बताए। करेन्ट लाग्ना साथ विद्युत काटिएका कारण मानवीय क्षति हुन नपाएको घटनाका प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ। सवस्टेशन र प्रशाखाको गम्भीर लापरवाहिका कारण झण्डै ८ जनाले ज्यान गुमाउनुपर्ने अवस्था आएको स्थानीयले बताए। करेन्ट लागेर घाइते हुने आठै जना प्रतापपुर गाउपालिका ३ का रहेका छन्।

घाईतेहरूमा ३६ वर्षीय बुद्धि चौधरी, २७ वर्षीय अर्जुन चौधरी, २३ वर्षीय नीरबहादुर चौधरी, ५० वर्षीय वीरपाल चौधरी, २८ वर्षीय रुपनारायण चौधरी, ३८ वर्षीय ओम प्रकाश थारू, २३ वर्षीय धर्मेन्द्र चौधरी र ४५ वर्षीय राजकिशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ। घाइतेहरूको बर्दघाटमा रहेको संजीवनी हेल्थ होममा उपचारपछि अवस्था सामान्य रहेकोले सबैजना आफ्नो घर फर्किएको बताइएको छ।