कमल थापा विरुद्ध विद्रोहको तयारी, गोप्य भेला सम्पन्न

११ कार्तिक २०७५, आईतवार १९:०६

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाविरुद्ध विद्रोहको तयारी अन्तरगत आज काठमाडौँको होटेल एलोपगोडामा गोप्य भेला सम्पन्न भएको छ।

प्रेसलाई प्रवेश अनुमति नदिईएको सो छलफलमा पार्टीभित्र अध्यक्ष कमल थापाको मनपरीतन्त्र, हुकुमी शैलीमा पार्टी संचालन गरेर प्रजातान्त्रिक प्रक्रियालाई लत्याएको आरोप लगाइएको छ। पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा अब पार्टी अगाडि बढ्न नसक्ने नेता तथा कार्यकर्तामा व्यापक असन्तुष्टि बढेको धेरै नेता तथा कार्यकर्ताहरु पशुपति शमसेरको नेतृत्वको पार्टीप्रति आकर्षित हुन् थालेकाले राप्रपाका अध्यक्ष थापाविरुद्ध वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महामन्त्रीहरु, सहमहामंत्री, केन्द्रीय सदस्यहरु, जनसंगठनका नेताहरुको बिशेष भेलाले विद्रोहको तयारी गरेको स्रोतको दावी छ।

राप्रपा स्रोतका अनुसार, पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामांगको नेतृत्वमा भेलाको आयोजना गरिएको हो । सो बिशेष भेलामा राप्रपाका पूर्व उपाध्यक्षहरु टंक ढकाल, दिल बिकास राजभंडारी, महामन्त्रीहरु धवल शम्सेर राणा, जयन्त चन्द, सह महामन्त्री दिनेश श्रेष्ठ, पार्टीका केन्द्रीय नेताहरु अर्जुन राई, गोबिन्द खनिया, मुकुन्द श्याम गिरी, भरत गिरी,सानुकाजी हेक्का, मजदूरका अध्यक्ष चिराग मान सिंह कुँवरलगायतका नेता तथा कार्यकर्ताहरुको  भेलामा गम्भीर छलफल भएको बताइएको छ। स्रोतका अनुसार, बिशेष भेलाले अध्यक्ष कमल थापाले बोलाएको केन्द्रीय समितिको बैठक सशक्तरुपमा बहिष्कार गर्ने निर्णय गरेको छ।