कमजोर वर्गको अधिकारबारे चर्चा

३ चैत्र २०७५, आईतवार १०:५०


काठमाडौं , पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व महाप्रबंधक वरिष्ठ चार्टर एकाउन्टेन्ट श्याम कुमार महतोको ५९ औं वर्षमा गत फागुन २२ गते निधन भएकोमा आज १० औं दिनमा नेपाल पिछड़ा वर्ग महासंघले राजधानी काठमाडौंमा श्रद्धांजली सभाको आयोजना गरे ।
सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद सीताराम मेहताले स्व। महतो एउटा विद्वान व्यक्ति भएको र पछाडी परेका वर्गको अधिकारको लागि समर्पित व्यक्तित्व रहेको बताउनु भयो । उनले आफू कुशवाहा समाजको अध्यक्ष भएको बेला उहाँसंग भेंट भएको थियो र त्यही बेला मैले उहाँको अडान र वौधिकताको बारेमा बुझेको बताए ।
कार्यक्रममा महासंघ तथा लोक दलका अध्यक्ष कौशल कुमार सिंहले स्व। महतोले पिछड़ा वर्ग आन्दोलनमा गर्नु भएको सक्रिय सहयोगको लागि पिछड़ा वर्गले सदा चिर स्मरण गर्ने बताए । उनले पिछड़ा वर्गको आन्दोलन ताका सिए महतोबाट पाएको प्रेरणाबाट आफू सधैं सक्रिय रहने र कमजोर वर्गको अधिकारको लागि लड़ने बताए । सत्ताको राजनीतिभन्दा अधिकारको राजनीति निकै कठिन भएको बताउँदै अध्यक्ष सिंहले सत्ताको राजनीतिमा लाभ हानीको कुरा हुने तर अधिकारको राजनीतिमा चौतर्फी चुनौती रहेको भने । उनले अधिकारको राजनीतिमा साधन स्रोतको कमी हुने, तत्काल फाइदा नहुने भएकोले जनताको साथ पनि कम हुने, अधिकारको राजनीति सफल भएमा सत्ताको राजनीति ढल्ने भएकोले शक्तिशाली शत्रु समेत रहेकोले निकै सजग र सतर्कताका साथ अगाडी बढनु पर्ने अवस्था रहेको बताए ।
उनले एउटा कथा सुनाउदै मधेशमा नाक काटेकाहरुको बोलबाला रहेको समेत बताए । भ्रष्टाचार गरी कमाएको अवैध धनबाट रवाफ् देखाउनेको स्व। महतो विरोधी रहेको उनले भने ।
कार्यक्रममा मधेशी शिक्षक समाजका अध्यक्ष उपेन्द्र यादवले सिए महतो एउटा क्रान्तिकारी व्यक्ति भएको बताए । उनले महतोको विचार सधैं कमजोर वर्गको उत्थानतिर केन्दित हुने गरेको जिकिर गरे । लवकुश सहकारी संस्थाका पूर्व अध्यक्ष नवलकिशोर कुशवाहाले महतो सधैं समाजलाई आर्थिक विकासतर्फ उन्मुख हुनुपर्ने धारणा राखे । मगही भाषा संस्कृति केन्द्रका अध्यक्ष वीर बहादुर महतोले उहाँ एउटा साहित्यकार रहेको बताए । स्व। महतोले लेख्नु भएको कविताहरु सुरक्षित रहेको जानकारी समेत उनले दिए ।
कार्यक्रममा विभिन्न समाजका व्यक्तिहरुले स्व। महतोको व्यक्तित्वबारे प्रकाश पारेका थिए । महतोको उचित उपचार हुन नसकी भक्तपुरको निवासमा नै निधन भएको थियो । उहाँ मधुमेह र कलेजो रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको सात दिनमा नै श्राद्ध क्रिया सम्पन्न गरिएको थियो ।