एम्सीसी खारेज गर्न १० राजनीतिक पार्टीको दवाव

१० जेष्ठ २०७७, शनिबार १४:२०

काठमाडौं , अमेरिकी सहयोग परियोजना (एम्सीसी) खारेज गर्न १० वटा राजनीतिक दलले माग गरेका छन् । एमसीसी नेपालको राष्टियता, सार्वभौमिकता तथा असंलग्न परराष्ट नीतिविरुद्ध भएको भन्दै उनीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसरी भएपनि संसदबाट एमसीसी पास हुने अडान लिँदै आएका छन् ।
नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल, नेकपा माले, राष्टिय जनमोर्चालगायतका १० दलले सरकारलाई एम्सीसी खारेज गर्न दवाव दिएका हुन् । यो विषयमा नेकपा (माओवादी केन्द्र) ३ नम्बर प्रदेशले पनि समर्थन जनाएको छ । नेकपा (माओवादी केन्द्र) को नेवा ताम्सालिन प्रदेश समिति उपाध्यक्ष प्रकाश दाहालले एक विज्ञप्ती जारी गरी संखुवासभामा निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको लगानीको लागि विश्व बैंकसमक्ष प्रस्ताव गरेकोप्रति आपत्ति जनाएको छ । विश्व बैंकमार्फत अमेरिकालाई योजना सुम्पने र अमेरिकी सैन्य भित्र्याउन र नेपालमा परेड खेलाउन गरेको तयारीप्रति खेद प्रकट गरेको छ । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जेष्ठ ७ गते विश्व वैंकसमक्ष यस्तो प्रस्ताव गरेका थिए ।
दाहालले आयोजना नेपाल सरकारले नै बनाउनुपर्ने र नेपालीकै लगानी हुनुपर्ने माग गरेका छन् । सरकारले तत्काल यो निर्णय फिर्ता नलिए आउने परिस्थितिको जिम्मेवार पनि सरकार नै हुनुपर्ने भन्दै उनले यस्तो गलत निर्णय सच्याउन माग गरेका छन् ।