एमाले–माओवादी कार्यदल बैठकबाट पद बाँडफाँटका बारेमा छलफल

१ माघ २०७४, सोमबार ०२:४५

माघ १, काठमाडौं । राष्ट्रियसभा र प्रदेशसभाका लागि पद विभाजनको जिम्मेवारी पाएको नेकपा (एमाले) र माओवादी (केन्द्र)को संयुक्त कार्यदलले माघ ३ गते अन्तिम टुंगो लगाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएपछि दुवै दलका अध्यक्षसहितको संयुक्त बैठकले अन्तिम निर्णय लिने कार्यदलमा सहमति भएको छ ।

सिंहदरबारस्थित आईतवार साँझ करिब अढाई घण्टा बसेको कार्यदलको बैठकले राष्ट्रियसभा र प्रदेशसभाको पद विभाजनबारे गम्भीर छलफल गरेको कार्यदलको संयोजक तथा एमाले स्थायी कमिटि सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । ‘सातवटै प्रदेशबाट दुवै दलले पाएको मतको परिणामबारे अध्ययन गरी त्यसमाथि गम्भीर छलफल भयो, अर्को बैठकमा मात्रै निर्णयमा पुग्छौं,’ उनले भने । छलफल सकारात्मक ढंगले अघि बढेको र पदको भागबन्डामा दुवै दलका नेताबीच विवाद नरहेको नेम्वाङले बताए । के्ही प्रस्तावमाथि छलफल भए पनि निर्णय हुन बाँकी रहेको जानकारी उनले दिए ।

माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य मातृका यादवका अनुसार बैठकमा प्रदेशको मूख्यमन्त्री तथा राष्ट्रियसभाको अध्यक्ष तथा उपाध्इक्षका विषयमा समेत छलफल भएको छ । ‘निर्वाचनबाट प्राप्त मतको परिणामबारे अध्ययन भयो, राष्ट्रियसभाको गठबन्धनको उम्मेद्वारबारेमा पनि छलफल ग¥यौ, अब अन्तिम निर्णय ३ गते बस्ने बैठकमा हुन्छ’ उनले भने । –गोरखापत्र