एमालेले बागीलाई कारबाही गर्ने

१९ कार्तिक २०७४, आईतवार ०१:१९

कात्तिक १९, काठमाडौँ । एमालेले आफ्ना उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूले फिर्ता नलिए कार्बाही गर्ने चेतावनी दिएको छ ।
पार्टीको अनुशासन आयोगका प्रमुख अमृत बोहराले शनिबार विज्ञप्ति जारी गर्दै पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरूविरुद्ध हाम्रा असहमति र असन्तुष्टिले विपक्ष्ीहरूलाई फाइदा पुग्ने हुँदा यसलाई मनन गर्न आमशुभेच्छुक, कार्यकर्ता र सदस्यहरूलाई अनुशासन आयोगले आग्रह गरेको बताएका छन् ।
विज्ञप्तिमा भनिएके छ, ‘पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकतालाई मध्यनजर गरी सिट संख्याको सीमाभित्र रहेर उम्मेदवार चयन गरी मनोनयन गर्ने काम सम्पन्न गरिसकेको र यसो गर्दा कयौँ महत्वपूर्ण व्यक्तिहरूलाई उम्मेदवारको रुपमा समावेश गर्न सम्भव हुन सकेन । यो पार्टीलाई पनि महसुस भएकै कुरा हो ।’
बोहराले विज्ञप्तिमा सञ्चर माध्यममा आएका समाचारलाई आधार मान्दै भनेका छन्, ‘पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने जुन समाचारहरु सार्वजनिक भएको छ, यो अत्यन्त दुःखद र गम्भीर विषय हो । यस विषयमा पार्टी अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ यो खबर आजको सौर्य दैनिकमा छापिएको छ ।