एक बर्षको अवधिमा सरकारले जनतालाई खासै परिवर्तनको अनुभूति दिन सकेन्ः माधव नेपाल

२१ चैत्र २०७५, बिहीबार १८:१८

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान सरकारले आफ्नो कमी कमजोरी सुधार गर्नुपर्ने बताउनु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले नयाँ वर्षको अवसरमा भक्तपुरमा बिहीबारदेखि सुरु भएको बृहत औद्योगिक मेलाको उद्घाटन गर्दै उहाँले बर्तमान ‘सरकारलले कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्नु पर्ने बताउनु भएको हो ।

नेपालले एक बर्षको अवधिमा सरकारले जनतालाई खासै परिवर्तनको अनुभूति दिन नसकेको बताउनु भयो । उहाँले आलोचना गर्नेहरुको राम्रो कुरालाई स्वीकार गर्नु सरकारको दायित्व भएको बताउनु भयो । मुलुकको समष्टिगत विकास आजको आवश्यकता भएको, अब विकास र समृद्धिमार्फत आर्थिक विकासको दिशामा लाग्न उहाँले सबैलाई आग्रह गर्नु भयो । राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समाबेशी विकासमा लाग्नुपर्ने समय आएको नेता नेपालले बताउनु भयो । नयाँ वर्षको अवसरमा आयोजना गरेको मेला बैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।