उपचारका नाममा पटक पटक ‘यौन शोषण’

१ माघ २०७६, बुधबार १४:१६

काठमाडौं, ललितपुर कुसुन्तीकी सीता (नाम परिवर्तन) दम र खुट्टा काँप्ने रोगले ग्रस्त थिइन्। थला पारेपछि कैयौंपटक अस्पताल धाएकी उनलाई औषधिले भेटेन।

औषधि खाउन्जेल निको हुने, खान छाडेपछि बल्झिने भएपछि उनी उपचारका अन्य विधि र तरिका खोज्नतिर लागिन्। कैयौंपटक धामीकहाँ पुगेर झारफुक गराइन्। निको भएन।

एक दिन उनलाई छिमेकी महिलाले चर्चमा गएर ध्यान गर्दा निको हुन्छ भन्दै त्यसै गर्न सुझाइन्। रोगले सताइरहेका बेला चर्च जाँदा निको हुन्छ भन्ने सुनेपछि उनी कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली नामको चर्चमा धाउन थालिन्। सीता शनिबार–शनिबार नियमित चर्च जान्थिन्।

सीता चर्च जान थालेपछि पास्टर विश्वास भन्ने ध्रुवबाबु जोशी उनीसँग नजिकिन थाले। उनले ‘अघिल्लो जुनीमा नराम्रो काम गरेका कारण यस्तो भएको हो, यसलाई मेटाउन पमेश्वरको विधि अपनाउनुपर्छ’ भन्न थाले।

पाप र रोग मेटाउन जोशीले सीतालाई आफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने बताए। उनले आफू प्रार्थना बस्दा परमेश्वरले यस्तो विधि बताएको भन्दै आफूसँग शारीरिक सम्पर्क राखेको तीन महिनाभित्र रोग निको हुने भनी सीतालाई विश्वस्त पारे।

पास्टर जोशीले सीतालाई चापागाउँ (ललितपुर) मोडमा रहेको एक गेस्ट हाउसको कोठामा बोलाएर शारीरिक सम्बन्ध राखे। त्यसपछि पनि दबाब र आशा देखाई पटक–पटक उनले शारीरिक सम्बन्ध राखे। तर रोग निको भएन।

रोग निको नभएपछि सीताले रोग निको बनाइदिने झुटो आश्वासन देखाएर जोशीले आफ्नो अस्मिता लुटेको भन्दै कारबाहीका लागि प्रहरी गुहारिन् । उनले प्रहरी परिसर ललितपुरमा जोशीविरुद्ध जाहेरी दिइन्।

जाहेरीमा लेखिएको छ, ‘मेरो इच्छाविपरीत ढोका बन्द गरी निज पास्टरले शारीरिक सम्बन्ध राखे। मैले तिमीलाई शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश हुन्छ र यसको असर तिमीलाई पनि पर्छ भनेर धम्की दिए।’

जाहेरीमा जोशीले पटकपटक बलात्कार गरेको र यो विषयलाई बाहिर लगे परिवार तथा साथीभाइलाई भनिदिने भन्दै डर देखाएको उल्लेख छ। जाहेरीमा जोशीले पछिल्लोपटक पुस पहिलो साता बलात्कार गरेको उल्लेख छ। पीडितको लिखित जाहेरीका आधारमा चर्चका पास्टर जोशीलाई ललितपुर प्रहरीले कुसुन्तीबाट पक्राउ गरेको छ।(आजको नागरिक दैनिकबाट)