इरानलाई नियन्त्रणमा राख्नका लागि ट्रम्प प्रशासनले अन्य उपाय अपनाउँदै, के हो त्यो उपाय ?

१३ श्रावण २०७५, आईतवार १६:४६

साउन १३, काठमाडौं । एजेन्सी

इरानलाई नियन्त्रणमा राख्नका लागि अनेकौं प्रतिबन्ध लगाएर उसलाई वैश्विक व्यापार जगतबाट अलग्याएपछि अमेरिकाको ट्रम्प प्रशासनले अन्य उपाय पनि अपनाइरहेको छ ।

ट्रम्प प्रशासनले ६ वटा खाडी मुलुक अनि इजिप्ट र जोर्डनसँग एउटा नयाँ सुरक्षा र राजनीतिक गठबन्धन बनाउने दिशामा काम गरिरहेको छ । अमेरिकी र अरबी अधिकारीहरूका अनुसार, यो कदम उक्त क्षेत्रमा इरानको प्रभावलाई चुनौती दिन चालिएको हो ।

ह्वाइट हाउसले ती देशहरूसँग क्षेप्यास्त्र प्रतिरक्षा, सैन्य तालिम, आतंकवादविरुद्ध लडाईंबाहेक क्षेत्रीय अर्थव्यवस्था र कूटनीतिक सम्बन्धलाई बलियो बनाउने जस्ता मुद्दामा गहन सहयोग चाहेको छ ।

अमेरिकाका सुन्नी मुसलमान सहयोगी देशहरूको यो गठबन्धनलाई अरब नाटो नाम दिइएको छ । अमेरिका र इरानबीच पहिलेदेखि नै सम्बन्ध बिग्रिएकोमा यो कदमले झन् तनाव चर्काउने देखिन्छ ।

सूत्रहरूका अनुसार, मध्यपूर्व रणनीतिक गठबन्धन (मेसा) का रूपमा चिनिने यो गठबन्धनका लागि १२–१३ अक्टोबरको सम्मेलनमा चर्चा हुन सक्छ । ह्वाइट हाउसले आफ्ना क्षेत्रीय साझेदारहरूसँग गठबन्धनका विषयमा कैयौं महिनादेखि काम गरिरहेको पुष्टि गरेको छ ।

अमेरिकी सूत्रहरूले अघिल्लो वर्ष ट्रम्पको यात्राका बेलामा साउदी अरबले सुरक्षा सम्झौतामा विचार पेश गरेको बताए । त्यतिखेर ट्रम्पले व्यापक हतियार सम्झौताको घोषणा गरेपनि गठबन्धन प्रस्ताव अघि बढाइएको थिएन ।

इरानको सामना गर्नका लागि यो गठबन्धनले खाडीका प्रमुख देशहरू साउदी अरब र यूएईमाथि ट्रम्प प्रशासनसँग मिलेर काम गर्न जोड दिनेछ ।