आफ्ना कार्यकर्ताहरुलाई आन्दोलनको तयारीमा जुट्न कमल थापाको निर्देशन

१९ श्रावण २०७७, सोमबार १६:०८

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न आफना कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । पार्टी सम्वद्ध जनवर्गिय संगठनको संयुक्त भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै थापाले सो कुरा बताउनु भएको हो । उहाँले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता बिषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको हो ।
मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको चर्चा गर्दै थापाले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याउनु भयो । पार्टी एकतासँगै जनवर्गिय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै थापाले साँठनिक सुदृढिकरणका गतिविधिमा केन्द्रीत हुनुपर्नेमा जोड दिनु भयो ।